घैंटेका पार्टनर पनि पक्राउ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

दृस्टी अनलाइन श्रोत =>मुठभेडमा गत बिहीबार मारिएका गुन्डानाइके कुमार घैँटेको व्यावसायिक पार्टनर पक्राउ परेका छन् । घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो । ट्राभल एजेन्सीका नाममा कार्कीले १०–१२ करोडको अस्वाभाविक कारोबार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटेसँग मिलेर उनले विभिन्न व्यवसाय गर्दै आएका थिए ।





लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक रहेका कार्कीले नै घैँटेको आर्थिक कारोबार मिलाउने गरेको सूचनाका आधारमा महाशाखाले पक्राउ गरेको हो । उनकै फ्राइडे रेस्टुरेन्टमा घैँटेले ठेकदारहरूलाई बोलाएर धम्क्याउने गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको हाल करोडौँको सम्पत्ति भेटिएको छ । महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान अघि बढाएको छ । घैँटेले चलाउँदै आएको गजुरमुखी कन्स्ट्रक्सनमा भने कार्कीको आफ्नै नाममा सेयर भेटिएको छैन । कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी श्रीमतीलगायत सातजनाको नाममा सो कम्पनीमा सेयर रहेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भए पनि आफ्नै नाममा भने थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको आशंकामा महाशाखाले छानबिन थालेको छ ।
६ दिनसम्म पनि पोस्टमार्टम भएन
मारिएको ६ दिन बित्दा पनि घैँटेको शवको पोस्टमार्टम भएको छैन । उनका आफन्त तथा सहयोगीले छानबिनको माग गर्दै पोस्टमार्टमका लागि अनुमति दिएका छैनन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको शव राखिएको छ । कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए । प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मारिएको प्रहरीको दाबी छ । तर, उनका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले गोली हानी हत्या गरेको बताउँदै छानबिनको माग गरेका छन् । केही सभासद्ले समेत घटनाको छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
घैँटे मारिएपछि कोही विदेशमा, कोही आत्मसमर्पणमा
राजधानीका चर्चित डन कुमार घैँटे मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तर्सिएका छन् । राजधानीका केही गुन्डाले देश छाडेका छन् भने घैँटेकै समूहमा रहेका एकजनाले आत्मसमर्पण गरेका छन् । नेपालगन्जमा गत महिना चेतन मानन्धरको हत्या आरोपमा फरार रहेका घैँटेनिकट रिगल ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका हुन् । अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । आफूलाई काठमाडौं प्रहरीले खोजी गरेको थाहा पाएपछि ढकालले आत्मसमर्पण गरेका हुन् । राजधानीमा नाम चलेका अरू डनहरूसमेत अर्धभूमिगत भएका छन् । घैँटेको समूहमा रहेका धेरैले राजधानी छाडिसकेको स्रोत बताउँछ । प्रहरीले उनको समूहमाथि नै छानबिन अघि बढाएपछि सहयोगीहरू भागेका हुन् । डन गणेश लामाले भने नेपाली नागरिकले बाँच्ने अधिकार पाउनुपर्ने बताएका छन् । लामाले गत शुक्रबार फेसबुकमा लेखेका छन्, ‘नेपाल हामी सबैको हो, आफ्नो देशमा सबैले बाँच्ने अधिकार हुन्छ ।’ घैँटे मारिएपछि अन्य गुन्डाका नाइकेविरुद्ध समेत उजुरी आउन थालेको महानगरीय अपराध महाशाखा स्रोत बताउँछ । महाशाखाका एक अधिकारी भने घैँटे इन्काउन्टरको एउटा उद्देश्य गुन्डागर्दीमा संलग्नलाई सन्देश पनि भएको बताउँछन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses