मेरो टाउकोको मूल्य तोक्ने वामदेव नै हुन्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
५ माघमा मैले संविधान बनाउने गरी प्रस्ताव राखेपछि कांग्रेस र एमालेबाट अपेक्षा के थियो भने, प्रचण्डले फेरि एकपटक जोखिम उठाएर संविधान निर्माणको प्रक्रियालाई गति दियो भनेर उहाँहरू खुसी हुनुहोला भनेको त केही नेताको झन् चिट्चिट् पसिना आयो । प्रधानमन्त्री आएर ‘संविधानमा पनि रिजर्भेसन, नोट अफ डिसेन्ट राख्न मिल्छ ?’ भन्दै कुर्लन थाल्नुभो । अहिले आएर त्यो दिन तपाईंले भनेको त ठिकै रहेछ भन्दै सुशीलजीले तीनपटक माफी मागी सक्नुभयो ।
काठमाडौं । पहिलो संविधानसभाभन्दा दोस्रो संविधानसभामा परिवर्तन नचाहनेहरूको संख्या केही बढेको छ । तर, परिवर्तनलाई संस्थागत गर्न अप्ठेरो पर्ने गरी उनीहरूको संख्या बढेको होइन । तर, पनि किन गोल हुन सकेको छैन ? अहिले मलाई आमरूपमा सोधिने प्रश्न पनि यही हो ।
मेरो जवाफ के छ भने, जतिबेला नेपालमा मधेसी, जनजाति, महिला दलित, मजदुर, किसानहरूको परिवर्तन र अधिकारका लागि लडाइँ भयो । त्यो लडाइँ संविधानसभाबाट संविधान बनाउनका लागि भएको थियो । जति बेला परिवर्तन र संविधानसभाबाट संविधान बनाउने गरी लडाइँ भइरहेको थियो, त्यो बेला नेपाली कांग्रेस र एमाले पनि सत्तामै थिए । हामी युद्ध वा विद्रोहमा थियौँ । त्यो बेला कांग्रेस र एमालेसँगै हाम्रो मुठभेड भयो ।
मानिसको मनोविज्ञान जादु छडीझैँ रातारात परिवर्तन भइहाल्छ भनेर हामीले बुझ्नु हुँदैन । इतिहासमा ठुल्ठूला परिवर्तन जनताले नै गर्ने हो । त्यही परिवर्तनको आधार र राजाको कदमले पछि कांग्रेस–एमाले अधिकारका पक्षमा र संविधानसभाबाट संविधान निर्माण गर्ने पक्षमा आएको इतिहास साक्षी छ ।
हिजो हामी युद्धमा हुँदा माओवादी नेताहरूको टाउको काटेर ल्याएमा हामी पुरस्कृत हुन्छौँ भन्ने कतिपय व्यक्ति अहिले पनि कांग्रेस–एमालेमा छन् । उनीहरूको मनोविज्ञान परिवर्तन भएको छैन । यो आरोप होइन सत्य हो, त्यो मनोविज्ञान कांग्रेस र एमालेभित्र अझै छ । ठुल्ठूला कानुन बनाएर, कडा कानुन बनाएर माओवादीलाई सखापै पार्नुपर्छ भन्ने व्यक्ति त्यो बेला पनि गृहमन्त्री हुनुहुन्थ्यो, अहिले पनि गृहमन्त्री नै हुनुहुन्छ ।
तर पनि समय परिस्थितिले हामीलाई एक ठाउँमा ल्यायो । त्यो एक ठाउँमा ल्याउने मूल काम गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो । उहाँ सरदर नेताभन्दा माथि हुनुहुँदो रहेछ । विगतलाई फर्केर हेर्दा अहिले म त्यो पाउँछु । नेता त सबै पार्टीका हुन्छन् । अध्यक्ष, उपाध्यक्ष हुन्छन्, मन्त्री हुन्छन् प्रधानमन्त्री हुन्छन् । तर, सामान्यभन्दा माथि मैले गिरिजाबाबुलाई मात्र पाएँ ।
म एउटा कुरा स्मरण गराउन चाहान्छु, हामी युद्धमा थियौँ, कांग्रेस–एमाले सत्ता चढ्दै–झर्दै गरिरहेका थिए । त्यही बेला गिरिजाप्रसाद कोइरालाले मलाई आउट अफ द वे, भेट गर्नुभयो । म युद्धमा लडिरहेकै बेला एक दिन उहाँको फोन आयो । राजाले सबै सूचना सञ्चारमा ब्यान्ड लगाएका बेला पनि मसँग सूचना सञ्चारको सुविधा थियो । फोनमा हामी दुईबीच कुरा हुँदा गिरिजाबाबुले हामी भेट्नैपर्ने भयो भन्नुभयो र पछि हामीले भेट्याँ । भेटमा परिवर्तनका संवाहक एक हुने र संविधानसभाबाट संविधान निर्माण गर्ने कुरामा उहाँहरूले संकल्प गरेपछि हामी शान्ति प्रक्रियामा आएका थियौँ । तर, गिरिजाप्रसादको त्यो कदमलाई कांग्रेस भित्रैबाट जबर्जस्त विरोध थियो भन्ने मलाई थाहा थियो ।
युद्धमा हुँदा गिरिजाबाबु पछि माधव नेपालसँग मेरो बारम्बार भेट भएको थियो । देश बाहिर र भित्र । उहाँ पनि संविधानसभाबाट संविधान निर्माण गर्ने कुरामा प्रतिबद्ध हुनुहुन्थ्यो । तर, एमालेभित्र पनि त्यसको जबर्जस्त विरोध थियो ।
मैले भन्न खोजेको के हो भने नेताहरू सबै हुन्छन् । तर, सामान्यभन्दा माथि उठ्न सक्दैनन् ।
पहिले गिरिजाबाबु संविधानसभाबाट संविधान बनाउन चाहानुहुन्थ्यो, सुशीलजी विरोधमा हुनुहुन्थ्यो, माधवजी संविधानसभा चाहानुहुन्थ्यो, केपी ओलीजी विरोधमा हुनुहुन्थ्यो । अहिले संविधानसभाका पक्षधर गिरिजाबाबुु हुनुहुन्न, विरोध गर्ने सुशीलजी कांग्रेसको सभापति हुनुहुन्छ, माधवजी संविधानसभाबाट संविधान बनाउने पक्षमा हुनुहुन्छ । तर, विरोध गर्ने केपीजी पार्टी अध्यक्ष हुुनुहुन्छ, समस्या यहीँनेर हो । पोस्टमा गोल छिर्न यहीँनेर सकेको छैन । मैले यसोभन्दा उहाँहरूको अपमान त नहोस् तर सरदर भन्दामाथिको नेता उहाँहरू होइन ।
माओवादी र प्रचण्ड नेपालमा स्थापित नाम
माओवादी र प्रचण्ड नेपालमा स्थापित नाम हुन् । प्रचण्डलाई विद्रोहको प्रतीकका रूपमा हेर्ने गरिएको छ । अहिले पनि त्यही रूपमा किन हेर्न गरिएको छ भने, संविधानसभाबाट संविधान र शान्ति प्रक्रिया प्रचण्डकै कारण सफल भयो भन्न अहिले चाहँदैनन् । त्यो चाहाने नेपाली समाजमा एउटा तप्का, समूह, वर्ग, समुदाय छ । उनीहरू संविधान बन्यो र शान्ति प्रक्रिया टुंगियो भने आफ्नो सर्वनाश हुन्छ भन्ने ठान्छन् । देशको राजनीतिक प्रक्रिया अर्कै मोडमा जान्छ भन्ने उनीहरू ठान्छन् । प्रचण्ड र माओवादी झन् स्थापित हुन्छ र आफूहरू सधैँका लागि विस्थापित हुन्छु भन्ने त्रास उनीहरूमा छ । तसर्थ, प्रचण्डले राम्रै गर्न खोज्यो भने पनि असफल पार्न लागिपर्ने गरेका छन् ।
५ माघमा बैठकमा यस्तो भयो
पहिलो संविधानसभा जस्तै यो संविधानसभा पनि गतिरोधतिर जान थालेपछि ५ माघको बैठकमा मैले केही रिस्क उठाएकै हो । अप्ठेरो बेलामा मैले रिस्क उठाउने गरेको छु, सेना समायोजन, हतियार व्यवस्थापन जति जोखिम उठाएरै भए पनि मैले गरेकै हो । शान्ति प्रक्रियामा आएपछि यसलाई यतिकै राख्नु हुँदैन भन्ने मेरो मान्यता थियो । पराजय भोगे पनि दोस्रो संविधानसभामा जाने अर्काे जोखिम पनि मैले मोलेकै हो । मैले यी सबै मेरा लागि गरे या जनताका लागि गरेँ, त्यो इतिहास र जनताले नै मूल्यांकन गर्लान् । मैले चालेका कदममा मलाई पश्चाताप पनि छैन । तर, केही कदम गलत भए भन्ने अहिले लाग्छ ।
यो संविधानसभाबाट संविधान नबन्ने खतरा भएपछि ५ माघको बैठकमा मैले विवादित विषयमध्ये मुख्य विषयमा नै गाँठो फुकाउँ र अरुमा विकल्पसहित छलफल गरौँ भन्ने प्रस्ताव गरेँ । शान्ति प्रक्रियाका हस्ताक्षर कर्तामध्येका गिराजाबाबु अहिले हुनुहुन्न । तर, म जीवितै छु । मेरै नेतृत्वमा शान्ति प्रक्रिया टुंग्याउने र संविधान बनाउने जिम्मेवारीका साथ प्रस्ताव गरेँ । ‘संघीयतामा कुरा कतैबाट मिल्ने सम्भावना नै मैले देखिनँ, मेरो स्ट्यान्ड जनताअघि राख्छु, अहिलेलाई नोट अफ डिसेन्ट राख्छु प्रक्रियाबाट अघि बढौँ’ भनेँ । शासकीय स्वरुपमा प्रत्यक्ष राष्ट्रपति वा कार्यकारीको व्यवस्था हुनुपर्छ र त्यसले मात्र स्थायी शासन दिन्छ भन्ने हाम्रो मान्यता थियो, त्यसमा माओवादी पार्टीको रिजर्भेसन हुनेछ । तर, तपाईं प्रक्रियामा जानुस्, भनेँ । त्यसपछि मलाई कांग्रेस र एमालेबाट अपेक्षा के थियो भने, प्रचण्डले फेरि एकपटक जोखिम उठाएर संविधान निर्माणको प्रक्रियालाई गति दियो भनेर उहाँहरू खुसी हुनुहोला भनेको त कांग्रेस र एमालेका केही नेताको झन् चिट्चिट् पसिना पो आयो । उठेर अर्काे कोठामा जानुभयो । पछि प्रधानमन्त्री आएर ‘संविधानमा पनि रिजर्भेसन, नोट अफ डिसेन्ट राख्न मिल्छ’ भन्दै कुर्लन थाल्नुभयो । म आश्चार्यमा परेँ ।
अहिले प्रधानमन्त्रीले कुरा बुझनुभएछ मसँग पाँचपटक माफी मागिसक्नु भयो । जतिबेला भेट हुन्छ, त्यो बेला प्रधामन्त्रीले ‘मैले गल्ती गरेँ छु’ भन्नुहुन्छ । ५ माघमा तपाईंले राखेका कुरा मैले बुझ्न सकिनँ भन्दै हुनुहुन्छ । अहिले सुशीलजीले ५ गते तपाईंले भनेजस्तै गरी सहमति गरौँ भन्दै हुनुहुन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses