जब भूकम्प गयो, तब सभाध्यक्षको आशनमा बसेकी सभासदले सँगै भएका ८ वर्षे छोरा बिर्सिइन्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तस्बिर सहयोगः अनलाइन खबर

सभाध्यक्षबाट पाएको बैठक सञ्चालनको जिम्मेवारी निर्वाह गर्दै थिएँ । सरकारले प्रतिपक्षको समेत समर्थनमा पेश गरेको संकल्प प्रस्तावमा सभासदहरुले टिप्पणी गर्ने कार्यसूची थियो । सभासदले बोल्ने क्रम सकेर मंगलबार नै प्रमुख दलका शीर्ष नेता सम्मिलित भूकम्प अनुगमन तथा निर्देशन विशेष समिति गठन गर्ने कुरा थियो । सभाध्यक्षले मलाई सभासदका लागि तोकिएको समयभन्दा बढी बोल्न नदिनु, कडाइ गर्नु भन्नुभएको थियो । सभासद विष्णु पौडेलको बोल्ने पालो थियो । उहाँले रोष्ट्रममा उभिएर ‘सभामुख महोदय, आज मुलुक महाभूकम्पले निम्त्याएको विपदमा छ ।
कमजोर संरचना तर, शून्य तयारीका कारण ठूलो धनजनको क्षति भयो’, यतिमात्र के भन्नुभएको थियो । भूइँचालोको धक्का आयो । १२ वैशाखमा गएको भूकम्पपछि स–साना धक्काहरु आइरहेका छन् । हामी एक प्रकारले त्यस्ता धक्कालाई कम वास्ता गर्नेतिर गइसकेका थियौं । जनजीवन बिस्तार सामान्य बन्दै गएको थियो । फेरि त्यति ठूलो भूकम्प जाला भन्ने अनुमान गरिएको थिएन । मैले धक्का सामान्य नै होला भन्ने सोचें । तर, संविधानसभा भवन पुरै हल्लिन थाल्यो । माथि भएकाले सबैभन्दा बढी सभामुख आशन नै हल्लिएको थियो । सभाकक्षको माथि राखिएका बत्तीहरु फुट्न थाले ।
आधाजति सभासद् उठेर बाहिर निस्कनुभयो । आधाजति बस्नुभएको थियो । धक्का नरोकिएपछि अधिकांश सभासद भाग्दै गरेको दृश्य देखें । के गरौं, कसो गरौं भन्ने अन्यौलतामा परें । मैले त्यस्तो बेला रुलिङ गर्नुपथ्र्यो कि पर्थेन भन्ने सोच्न सकिन । छेउमा रहेका सचिवालयका कर्मचारीसँग सल्लाह गरेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्छु भन्ने सोच्दै थिएँ, बैठक कक्षको बत्ती काटियो । माइक नै नभएपछि केही बोल्ने कुरै भएन । भूकम्प रोकिँदासम्म धेरै कर्मचारी त्यहाँ थिएनन् । सुरुमा कुर्चीको दुईतिर समाएर बसें । झन् हल्लाउन थालेपछि उभिएर टेबल समातें । भूकम्प रोकिएपछि अन्तिममा बाहिर निस्कें । सभाध्यक्षले बैठकको कारबाहीबारे के गर्नुभयो भनेर सोध्नुभयो । स्थगनको घोषणा गर्न नपाउँदै बत्ती गएको जानकारी दिएँ । उहाँकै सल्लाहमा बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले ९ रेक्टर स्केलको भूकम्प थेग्न सक्छ भन्ने सुनेको थिएँ । मलाई त्यो साँचोजस्तो लाग्यो । त्यतिधेरै हल्लिएको भवनमा सामाज्य चिरासमेत देखिएन ।

अघिल्लो भूकम्पपछि श्रीमान, आमासहित परिवारका सबै गृहजिल्ला धनुषा जानुभएको छ । घरमा ८ वर्षको छोरा मसँगै थियो । तीन दिनदेखि छोरा लिएरै संविधानसभा बैठकमा गएको थिएँ । छोरालाई संविधानसभाकै क्यान्टिनमा खाना खुवाएँ । बैठकका लागि भित्र गएँ । छोरा क्यान्टिन अगाडि चउरमा छाडेर गएको थिएँ । भूइँचालो गयो । सभाध्यक्षसँग कुरा गरें । त्यसपछि केही साथीहरुले छोरा खै त भनेर सोध्नुभयो । छोरा त छैन । बल्ल छोरा सम्झिएँ । दगुर्दै छोरालाई छाडेको स्थानमा गएँ । जहाँ छाडेको, ऊ त्यहीँ मलाई कुरेर बसेको रहेछ । तपाइँको सबै साथीहरु आउँदा पनि किन नआएको भन्ने प्रश्य ग¥यो । खाजा खुवाएर घर ल्याएँ ।
(कुराकानीमा आधारित)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses