हैटीको भूकम्पको चर्चा नेपालमा : त्यस्तै नियति दोहारिएला त यहाँ पनि ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेठ २ गते
काठमाडौँ , २ जेठ । हैटीमा सन् २०१० को जनवरी १२ मा गएको ७.३ रिक्टर स्केलको विनाशकारी भूकम्पलाई विश्वको इतिहासमा मानवीय क्षतिको हिसावले एक विभत्स घटनाका रूपमा लिइन्छ । विश्वमा गएका शक्तिशाली भूकम्पको स्मरण गर्ने क्रममा आजसम्म सबैभन्दा विभत्स भूकम्पीय दुर्घटनाको रूपमा यसलाई पनि लिने गरिन्छ ।
करिब एक करोड जनसङ्ख्या रहेको हैटीको राजधानी पोर्ट ओ प्रिन्समा मात्र ३० लाख मानिस बसोबास गर्दै आएका थिए । त्यसैले यसलाई तीब्र सहरीकरण भएको नगरका रूपमा पनि लिने गरिन्थ्यो । भनिन्छ त्यहाँको संरचनागत बनावट पनि राम्रो थिएन । निर्माणका काममा सरकारी आदेश र नियमको पनि अवज्ञा हुनेगरेकाले अत्यन्तै कमजोर संरचना रहेको हैटी भूकम्पको सिकार भएको विज्ञहरूको भनाइ छ ।
सो भूकम्पबाट करीब एक लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु तत्कालै भएको थियो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो भने लाखौँ व्यक्ति प्रभावित भएका थिए । आजसम्म पनि उक्त भूकम्पको गहिरो घाउ पुरिन सकेको छैन । त्यस भूकम्पबाट करीब १६ लाख व्यक्ति तत्कालै घरबारबिहीन भएका थिए ।
राजधानी पोर्ट ओ प्रिन्समा विगत १० वर्षदेखि फोटो पत्रकारितामा संलग्न हुँदै आएका बेल्जियमका पत्रकार गेल ट्युरिनले विश्वप्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका टाइमलाई दिएको विवरणअनुसार महाभूकम्पले क्षतविक्षत बनाएको पाँच वर्ष बितिसक्दा पनि राजधानीका ठूला भवनका भग्नावशेष र आधा भत्किएका भवन जताततै छरपस्ट देख्न सकिन्छ ।
पाँच वर्ष अघिको भयानक त्रासदी मानव मस्तिष्कबाट हट्न सकेको छैन । ठूला, साना सबै बर्गका जनता दयनीय हालतमा अझै कष्टकर जीवनयापन गरिरहेको सर्वत्र देखिन्छ । महाभूकम्पको महाविनाशपश्चात् हैटीमा राहत सामग्रीको ओइरो लागेको थियो ।
क्यारेबियन सागरमा अवस्थित दुई ठूला अमेरिकी महादेशबीच रहेको र तुलनात्मक रूपले अत्यन्त गरिबीले आक्रान्त यस सानो मुलुकमा ठूला ठूला अन्तराष्ट्रिय दाताहरूले यति सहयोग गरे कि सो सहयोग सबै सदुपयोग भएको भए छोटो समयमै मुलुकको कायापलट हुने थियो । तर दुर्भाग्य, पीडित हैटीवासी आजसम्म पनि सहयोगकै याचनामा बाँच्नु परिरहेको छ ।
फोटोपत्रकार ट्युरिनकै शब्दमा “महाभूकम्प पश्चात् अन्तर्राष्ट्रिय दाताले प्रदान गरेका राहत सामाग्री र छोटो समयावधिमै पुनर्निमाणका लागि भनी सहयोग गरेको अकुत धनराशिको कागजी रेकर्ड, अभिलेख वा फेहरिस्त केलाएर हेर्ने हो भने हैटीमा जादुमय विकास भइसक्नुपथ्र्यो, अहिलेसम्म जनसमुदायले हर्षोल्लासपूर्वक विकासको प्रतिफल उपभोग गरिसकेका हुनुपथ्र्यो” ।
तर त्यहाँको अहिलेको जनजीवन महाभूकम्प आउनु भन्दा अघिको स्थिति भन्दा पनि नाजुक र थप गरिबीमा पुगी झनै खस्केको देखिएको छ । भूकम्प गएको केही समयमै बसोबास प्रयोजनका लागि निर्माण गरिएका अस्थायी शिविर राजधानी केन्द्र र वरपर आजभन्दा दुई वर्ष अघिसम्म खडा नै रहेका थिए ।
अहिले ती शिविर हटाइएका छन् । ज्यादै न्यून सङ्ख्यामा मात्र विस्थापित जनतालाई पुनर्वासको बन्दोबस्त हुनसकेकाले पीडित ठूलो सङ्ख्यामा महानगर बाहिर काठपात, त्रिपाल र जस्तापाताको छानामुन्तिर बेरबार पारेर बनाइएको छाप्रोमा ओत लागि जीवन गुजारिरहेका छन् ।
त्यस्तै हैटी सरकारले पनि त्रिपाल र जस्तापाताको छाना मुनि बनाइएको आसेको बारजस्तो आफ्नो मुलुकको अर्थतन्त्रको अवस्था टुलुटुलु हेरिरहनु परेको छ । हैटीको अवस्था र यस भित्र लुकेका सत्यता बारे जानकारी राख्ने ट्युरिन जस्ता विश्लेषक यस्तो परिस्थिति आउनुमा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेदार ठहर्याउँछन् । यिनै समुदायको मनोमानी क्रियाकलापबाट देशवासीको आकाँक्षामा तुसारोपात भएको उनीहरूको ठम्याइ छ ।
यतिखेर पाँच वर्षसम्म आइपुग्दा गैरसरकारी संस्था र विदेशी दातृ निकाय फर्किसकेका छन् । स्थानीय र बाह्य पूँजीपतिले आफ्नो लगानीमा पूर्णविराम लगाइसकेका छन् । यस्तै कारण हैटीबासीको आर्थिक अवस्था थप दयनीय बनी महाभूकम्प आउनुभन्दा अघिको स्थिति भन्दा पनि गएगुज्रेको बनेको छ ।
तै पनि उनीहरूले हिम्मत हारेका छैनन् । कमजोर सरकारको मुख नताकी एक आपसमा सद्भावना र भ्रातृत्वको सूत्र दरिलो पार्दै, सामूहिक शक्ति बटुल्दै बचेखुचेका र स्थानीय स्तरमा उपलब्ध सामाग्रीको जोहो गर्दै सम्पूर्ण देशबासी पुनर्निर्माणको अभियानमा कम्मर कसेर लागेका छन् । आफ्नो भाग्य निर्माणका लागि आफैँ लागि परेका छन् ।
यी र यस्तै अन्तर्राष्ट्रिय अवस्थाको उदाहरण यतिखेर नेपालमा पनि दिने गरिएको छ । पश्चिम नेपालको गोरखालाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते आएको ७.६ रेक्टर स्केलको भूकम्पले राजधानी काठमाडौँ र विशेषगरी सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखा, लम्जुङ र दोलखामा बढी मात्रामा क्षति पुगेको छ ।
यस प्रलयबाट ज्यान जाने नेपालीको सङ्ख्या आठ हजार नाघिसकेको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पको भग्नावशेषमा अझै पनि नागरिक हराएका हुनसक्छन् । भौतिक सम्पत्तिको क्षति पनि उत्तिकै छ । सरकार उद्धार र राहतको काममा त लागि परेको छ तर पनि लाखौँ लाख नेपाली यसबाट प्रभावित भएकोले सरकारलाई पनि निकै गाह्रो परेको देखिन्छ ।
यहाँ पनि विभिन्न अन्तर्राष्ट्रिय दाता एवम् राष्ट्रले सहयोगका प्रयास गरेका छन् । अरबौँ रूपैयाँ सहयोगका रूपमा आएका वा प्रतिबद्धता व्यक्त भएका छन् । तर पनि सो रकमलाई जनताको घरदैलोसम्म पारदर्शी रूपमा पुर्याउन सरकारलाई ठूलो चुनौती छ । हैटीमा जस्तो पैसाको हिसाब किताब नराखी अहिलेसम्म १५ लाख नागरिकलाई पालको बास बनाउने काम यहाँ नहोस् । नेपालमा अबको बढीमा महिना दिनमा मनसुन सुरु हुँदैछ । त्यस अगावै नागरिकले कम्तीमा पनि रात काट्ने छाना पाउन सकेमा हामीकहाँ हैटीको जस्तो महामारी दोहोरिने छैन ।
हैटीमा भूकम्पबाट भन्दा धेरै नागरिक भूकम्पपछिको भोकमरी र महामारीबाट मारिएका थिए । एकातर्फ सडेगलेका शव त अर्काेतर्फ जनताले शुद्ध खानेपानी र आवश्यक खाद्यान्न नपाउने कारणले हैटीमा पछि मानिस मर्नुपरेको थियो । त्यस्तो अवस्था यहाँ नआओस् भनेर यतिखेर हाम्रो देशमा पनि हैटी उदाहरण बन्न पुगेको छ । हैटी हाम्रो उदाहरण बन्नु नपरोस् भन्ने कामना पीडितहरूको अझ बढी छ । रासस/विभिन्न एजेन्सीहरूको सहयोगमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses