भूइँचालो : गुजरातमा बरदान, हाइटीमा अभिशाप !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । भूकम्पजस्तो विनासकारी विपत्तिले पनि काहिँ मानिसलाई फाइदा पुर्याउन सक्छ र ? भूकम्पको पीडामा रुमलिएका हामी नेपालीलाई यतिबेला यस्तो सुन्दा रीस उठ्न सक्छ ।
तर, छिमेकी भारतको गुजरातमा आएको भूकम्पलाई नरेन्द्र मोदीले बरदानमा परिणत गरिदिए । र, त्यहीँबाट भारतीय राजनीतिमा उनको अभ्युदय भयो ।
भूकम्पपछि गुजरातको भूजको एक दृश्य
गुजरातमा आजभन्दा १५ वर्ष पहिले २० हजार मानिसको ज्यान जाने गरी गएको भूकम्पलाई भारतीयहरुले कसरी अवसरका रुपमा सदुपयोग गरे भन्ने विश्लेषण गर्दै भनिएको छ- ‘सन् २००१ को भूकम्प गुजरातलाई मध्ययुगीन अवस्थाबाट आधुनिक संसारमा धकेल्ने अवसरका रुपमा परिणत भयो ।’
भूकम्पपछिको हाइटी जसरी तहस-नहस भयो, त्यहाँको नकारात्मक अनुभवबाट पाठ सिक्नुपर्ने नेपालमा चर्चा सुरु भइसकेको छ । तर, भूकम्पपछि भारतको गुजरात राज्यले गरेको प्रगतिबाट पनि नेपालले सकारात्मक पाठ सिक्न उत्तिकै जरुरी देखिएको छ ।
भूकम्पले गुजरातलाई सम्पन्नतामात्रै दिएन, सोही भूकम्पको व्यवस्थापन गर्ने नेता आज सिंगो भारतको प्रधानमन्त्री बनेका छन् । नेपालमा पनि यो भूकम्पपछिको व्यवस्थापन जसले गर्न सक्छ, उसैले राजनेता बन्ने अवसर पाउने छ । गुजरातमा जस्तै नेपालको पनि नवनिर्माण गर्नैपर्ने अवसर र चुनौती निम्त्याएको छ यो भूकम्पले ।
नरेन्द्र मोदी : भूकम्पले जन्माएका नेता
सन् २००१ को जनवरी २६ का दिन भारतको गुजरातमा ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पबाट २० हजार मानिसले ज्यान गुमाए, डेढ लाख मानिस घाइते भए भने दशौँ लाख घरबारविहीन बने ।
भुइँचालोले ८ हजार गाउँ ध्वस्त पार्यो । गाउँ मात्र होइन, कुच जिल्लाको सदरमुकामा भुज पनि ध्वस्त भयो र त्यो सँगै अन्य कैयौँ मुख्य सहर पनि भग्नावशेषमा परिणत भए ।
तर, भुइँचालोले थिल्थिलो बनाएको गुजरातले त्यसको एक दशकपछिबाट दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर सबैलाई आश्चर्यमा पारिदिएको छ ।
सन् २००१ मा गुजरातमा भुकम्प जाँदा त्यहाँका मुख्य मन्त्री थिए, केशुभाइ पटेल । बिग्रँदो स्वास्थ्यका साथै शासकीय असफलताका कारण केशुभाइ अलोकपि्रय बनिरहेका बेला गुजरातको भुजलाई केन्द्रविन्दु बनाएर विनाशकारी भुइँचालो गयो । त्यसपछि जनता पार्टीले केशुभाइलाई हटाएर मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि नरेन्द्र मोदीलाई छान्यो ।
लालकृष्ण आडवानीको विरोधका बाबजुत बिजेपीले ३ अक्टोबर २००१ मा मोदीलाई गुजरातको मुख्यमन्त्री बनायो । त्यतिबेलासम्म मोदी कुनै अनुभवी राजनीनिज्ञ नभई सांगठनिक व्यक्तित्व मात्र थिए राजनीतिक अनुभव नभएको कनिष्ठ नेता भनेर खासै विश्वास नगरिएका मोदीले भुकम्पपछिको पुनःनिर्माणमा गरेको चमत्कारले उनको उचाइ ह्वात्तै बढायो ।
मोदीको सरकारले ५ सय दिनमा ८ लाख ७६ हजार ६ सय १८ वटा घर निर्माण गरी विश्व रेकर्ड नै कायम गर्यो । मोदीले भूकम्पको केन्द्रको रुपमा रहेको भुजलाई शुन्यबाट अवसरको सहरका रुपमा परिणत गरे ।
विपत व्यवस्थापनमा अभुतपूर्व कार्य गर्न सफल भएवापत गुजरात सरकारले राष्ट्रसंघबाट सासाकावा अवार्डसमेत प्राप्त गर्यो । आफ्ना विपक्षीहरुलाई पाखा लगाउने गरी मोदीलेे कुच जिल्लाको पुनर्निर्माण अभियानमा आफ्नो उपस्थिति बाक्लो पारे । मोदी नेतृत्वको सरकारले भूकम्पपछिको राहात तथा पुनर्निमाणमा गरेको प्रभावकारी कार्यले मोदीलाई चर्चित तथा लोकप्रिय बनायो ।
सन् २००२ मा भएको हिन्दु-मुसलमान दंगाका कारण केही आलोचित बनेपछि मोदीले सन् २००२ को अप्रिलमा मुख्यमन्त्रीबाट राजिनामा दिए र संसद विघटन भयो । मोदीको एक वर्षे कार्यकालको लोकपि्रयता तब झल्कियो, जब लगत्तै भएको गुजरात विधानसभाको चुनावमा मोदीको दल भारतीय जनता पार्टीले कुल १ सय ८२ सीटमध्ये १ सय २७ सीटमा जित हात पार्यो ।
मोदी सन् २००२ को डिसेम्बर २२ मा गुजरातको जननिर्वाचित मुख्यमन्त्री बने । तत् पश्चात मोदीले गुजरातको आर्थिक विकाश तथा पुनर्निर्माणलाई निरन्तर उचाइ दिलाउँदै गुजरातलाई भारतको अर्थतन्त्रको मुख्य हिस्सा बनाउन सफल भए ।
गुजरातमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेर रेकर्ड कायम गर्न सफल भएका मोदी सन् २०१४ सम्मै त्यहाँको मुख्यमन्त्री रहे । र, उनको लोकपि्रयताका कारण भारतीय जनता पार्टीले सन् २०१४ को आम निर्वाचनमा अरु घघडान नेताहरुलाई पछाडि राखेर मोदीलाई प्रधानमन्त्रीको उमेद्वार बनायो । मोदीकै ओजस्वी छविका कारण भारतीय जनता पार्टीले आम चुनावमा भारी बहुमत हासिल गरेपछि मोदी विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए ।
अवसरमा बदलियो भूकम्प
भारतको कुल जनसंख्याको केवल ५ प्रतिशत जनसंख्या मात्रै रहेको गुजरात राज्यले भूकम्पपछि निकै महत्वपूर्ण आर्थिक उपलब्धी हासिल गरिसकेको छ : ती हुन्-देशको कुल निर्यात व्यापारको २० प्रतिशत हिस्सा ओगट्नु तथा देशको कुल औद्योगिक उत्पादनको ६ भागको एक भागको प्रतिनिधित्व गर्नु ।
पुनःनिर्माणपछि भुज शहर
व्यापारमा आधारित दिगो व्यवसायिक संस्कृति गुजरातमा मजबुत बनेको छ । निकै नै समन्वित विश्व डायस्पोरालाई आकषिर्त गर्न सफल भएको गुजरातमा नयाँ सोच तथा लगानी निरन्तर रुपमा भित्रिरहेको छ । भुइँचालोपछि डायस्पोराबाट गुजरातमा १३ करोड अमेरिकी डलर सहायता प्राप्त भएको थियो ।
गुजरातले विनाशकारी भुइँचालोबाट सफलतापूर्वक बौरिएर एक दशकमै लोभलाग्दो आर्थिक वृद्धि हासिल गर्न सफल हुनुको मुख्य कारण हो प्रभावकारी शासन ।
विश्लेषकहरुका अनुसार सन् २००१ को भूकम्प गुजरातलाई मध्ययुगीन अवस्थाबाट आधुनिक संसारमा धकेल्ने अवसरका रुपमा परिणत भयो ।
विगतमा केन्द्र सरकारले उतिसारो ध्यान नदिने गरेको गुजरात भूकम्पपछि चर्चाको केन्द्रमा आयो । सञ्चार माध्यमको खबरदारी, चौतर्फी सहयोग तथा आर्थिक सहायताको तिब्र प्रवाहले भारत सरकारलाई गुजरातप्रति ध्यान दिन बाध्य बनायो ।
भूकम्पपछिको संकटकालसँगै सहयोगका लागि सेना परिचालन गरियो अनि सरकारले पुनःनिर्माणमा २ अर्ब अमेरिकी डलर छुट्टायो ।
वैदेशिक सहायताको पनि निकै राम्रोसँग सदुपयोग गरियो र क्षतिग्रस्त अधिकांश गाउँहरु दुई वर्षभित्रैमा पुनर्निमाण गरियो, पुरानै रुपमा होइन, पूर्णतः आधुनिकीकरण गरेर । नयाँ घरहरु उच्च गुणस्तरका साथै बढी कोठा तथा पर्याप्त प्रकाश, पानी तथा शौचालययुक्त बनाइयो । साथै स्वास्थ्य केन्द्र तथा सामुदायिक क्षेत्रहरु पनि ठाउँठाउँमा स्थापना गरियो ।
भूकम्पमा कुच जिल्लाको सदरमुकाम भुज पूरै ध्वस्त भएको थियो । अर्को वर्षमै उक्त सहर पुनःनिर्माणको योजना तयार पारियो । अहिले भुजमा दुईवटा चक्रपथ निर्माण भएका छन्, नयाँ विमानस्थल छ, पार्क तथा पसलहरु छन् । सडक फराकिलो बनाइएको छ भने पानी तथा ढल व्यवस्थापन चुस्त छ ।
नयाँ भौतिक संरचना तथा पर्याप्त नगद भित्रिएसँगै गुजरातले अर्को सबैभन्दा ठूलो उपलब्धी हासिल गर्यो, त्यो हो, आर्थिक वृद्धि । सरकारले करमुक्त क्षेत्र घोषणा गरी निजी लगानी आकषिर्त गर्यो । तत् पश्चात गुजरातमा १० अर्ब अमेरिकी डलर निजी लगानी भित्रियो, थप ७ अर्बको प्रतिवद्धता प्राप्त भयो ।
भूकम्पपछि चमत्कारिक प्रगति गर्न सफल अर्को क्षेत्र हो मुन्दारा । पहिले सानो माछा मार्ने बन्दरगाहको रुपमा थियो त्यो ठाउँ । जुन अहिले भारतको सबैभन्दा ठूलो निजी बन्दरगाहको रुपमा स्थापित भैसकेको छ, मुम्बईको प्रतिस्पर्धीको रुपमा । मुन्दारा बन्दरगाह र विशेष आर्थिक क्षेत्रलाई सन् २००३ मा एकीकृत गरियो ।
अदानी ग्रुपको स्वामित्वमा रहेको यो पोर्टको अहिलकेको मूल्य ७ अर्ब डलर पुगेको छ । कुच प्रशासनिक जिल्लामा झण्डै ३ सय व्यवसायिक उद्योगहरु स्थापना गरिएका छन् । त्यसमध्ये एक हो वेलस्पुन टावेल उद्योग, जुन विश्वको सबैभन्दा ठूलो टावेल उद्योग हो । केवल ९ महिनामा निर्माण पूरा भएर सञ्चालनमा आएको यो उद्योगले एक दिनमा अढाइ लाख टावेल उत्पादन गर्छ ।
आखिर विश्वको सबैभन्दा ठूलो टावेल कम्पनी किन कुचमै स्थापना गर्नुपर्यो त ? वेलस्पुनका अध्यक्ष बालकृष्णन् गोयन्काका अनुसार सरकारले सुरुको पाँच वर्ष स्थानीय कर तथा अन्तःशुल्क मिनाहा गर्यो । साथै सुरुको पाँच वर्षसम्म अन्य सबै अप्रत्यक्ष कर समेत छुट गरिएको थियो । स्थानीय सरकारबाट प्राप्त ठूलो सहयोगका कारण आफुहरुको उद्योगले तिब्र प्रगति गरेको उनी बताउँछन् ।
भूकम्पपछि कुचमा मात्रै १ लाख १० हजार रोजगारी सिर्जना गरिएको छ । यो क्षेत्र बेवास्ता गरिएको, पिछडिएको क्षेत्रबाट भारतीय अर्थतन्त्रको कोशेढुंगाको रुपमा परिणत भएको छ ।
दुग्ध क्रान्ति
भूकम्पपछि गुजरातमा अर्थतन्त्रको सम्वृद्धिको अर्को कारक बन्यो, दुग्ध उद्योगको वृद्धि । भूकम्पले भुजको डेरी प्लान्ट ध्वस्त पार्यो, जसलाई राष्ट्रिय दुग्ध विकाश बोर्डले पुनःनिर्माण गरिदियो । यो प्लान्टले अहिले दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्दछ ।
यो प्लान्टलाई अहिले गुजरात सहकारी दुग्ध बजारीकरण महासंघले सञ्चालन गरेको छ, यो संस्था भारतको सबैभन्दा ठूलो खाद्य पदार्थ बजारीकरण संस्था हो । यो सहकारी संस्थामा २९ लाख उत्पादक सदस्य छन् र १५ हजार ३ सय २२ गाउँ आबद्ध छन् ।
अस्थायी शिविर कायमै
भूकम्पबाट पीडित बनेका सबैको जीवन बदलिसकेको भने छैन । सहायताकर्मीहरुका अनुसार अझै पनि हजारौँ गुजरातबासीहरु अस्थायी सिविरमा बसिरहेका छन् । उनीहरुले खुल्ला ठाउँमा दिसा पिसाब गर्छन् र सफा पानीमा पहुँच कम छ । दुई छाक टार्न पनि उनीहरुलाई धौधौ छ ।
सुकुम्बासी तथा भाडामा बस्नेहरुले जग्गा तथा घरधनी सरहको सुविधा नपाएको भनी आलोचना हुने गरेको छ । तथापि स्थानीय अधिकारीहरुले भने पुनस्र्थापना कार्यक्रम भुकम्पपीडित सबैलाई समेट्ने गरी विस्तृत रुपमा सञ्चालन गरिएको दाबी गर्छन् ।
नर्मदा नदीबाट ४ सय किलोमिटर लामो पाइपलाइन मार्फत गुजरातमा पानी ल्याइएपछि धेरै गुजरातीका लागि पर्याप्त पानी आपूर्ति सम्भव भएको छ ।
यस्ता प्रयासहरुबाट गुजरातले अहिले नाटकीय आर्थिक उन्नती गरिरहेको छ, जुन १४ वर्षअघि कल्पना पनि नसकिने अवस्था थियो ।
नेपाललाई हाइटी बनाउने कि गुजरात ?
भूकम्पपछि सिन्धुपाल्चोकको थाम्पालधापको दृश्य
यतिबेला नेपाली नेताहरु इतिहासको कठोर परीक्षामा छन् । झण्डै ८ हजारको ज्यान जानेगरी आएको यो भूकम्पलाई कसरी ब्यबस्थापन गर्ने ? यसैले उनीहरुको उत्थान वा पतन निर्धारित गर्ने छ ।
यदि नेपाली नेताहरुले भूकम्पको प्रभावलाई सहीरुपमा ब्यबस्थापन गर्न सकेनन् भने बिश्वभर नकरात्मक उदाहरणको रुपमा प्रस्तुत हुनेछन् । मानिसहरु हैटीको कथा बिर्सेर नेपाली बेथितिको कथा भन्न थाल्नेछन् ।
यदि सही रुपमा ब्यबस्थापन गर्न सकियो भने गुजराती उदाहरणको नयाँ संस्करण बन्ने छ । यहाँ पनि मोदीहरु जन्मिन सक्नेछन् । नेपालका पहाडी बस्तीहरुलाई नयाँ युगमा प्रवेश गराउने ठूलो अबसर प्राप्त हुनेछ । नेपाललाई हैटी बनाउने कि गुजरात ? यहाँ राजनीतिक नेतृत्वको क्षमतामै निर्भर रहनेछ ।
-
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses