अर्बपति शेष घलेकी आमालाई एउटा चिठ्ठी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
- शारदा गैरे
२०७२ जेठ २९ गते
तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ ।
पूज्यनीय आमा नमस्कार !
आमा ! सन्चै हुनुहन्छ कि बिसन्चो, त्यो त थाहा छैन् । ८६ बर्षको उमेरमा पनि एक्लै बस्दै आउनुभएको छ भन्नेसम्म थाहा पाएँ । बुढेशकालको जिन्दगी एक्लै गुजार्नु पर्दा नरमाइलो त पक्कै लाग्दो हो । कति निश्चल मन तपाईको, छोराले सुःख सुबिधासँग राख्न खोज्दा खोज्दै पनि लोभिनु भएन । देश, बिदेश चहारेर संसार देख्नुभो । तर, पनि आफ्नै जन्मथलो छाड्न मान्नु भएन ।
तपाईबारेको खोजमुलक समाचार दैनिक नेपाल डटकममा पढेँ । अति मार्मिक लाग्यो । त्यसैले चिठी लेख्न थालेँ । मलाई थाहा छ आमा, तपाईँले आफै त यो चिठी पढ्न सक्नुहुन्न । तपाईँको एउटा आँखामा फुलो छ । बुढ्यौलीले आँखा पनि राम्रोसँग देख्न सक्नुहुन्न होला । तर, दैनिक नेपालमा प्रकाशित भएको समाचार पढेर नसक्दै मेरो हातले कलम समाउने पुगे र चिठी लेख्न थालेँ । कसैले पढेर तपाईंलाई बेलीविस्तार लगाइदिन्छ भन्नेमा विश्वस्त छु ।
आमा ! यो उमेरमा पनि तपाईंको सक्रियता देख्दा साह्रै खुसी लाग्यो । दुनियाँलाई चक्मा दिने जोश छ तपाईँसँग । उस्तै जाँगर । यो उमेरमा पनि गाउँकै उकालीओराली गर्न मन पराउनु हुन्छ । नेपालीहरु देश छोड्न हतारिँदा तपाईँ भने गाउँलाई माया गरेर सतिसालझैँ उभिनुहुन्छ । समाजसेवाको काममा सक्रिय हुनुहुन्छ । यो थाहा पाउँदा म तपाईसँग नतमस्तक छु ।
तपाईँका छोराछोरी कति भाग्यमानी ! तपाईँ जस्ती महान आमाको कोखबाट जन्मिन पाए । अनि तपाई पनि उस्तै भाग्यमानी हुनुन्छ । बिश्वले आदर गर्ने शेष घलेजस्ता सपुतलाई जन्मदिनुभयो । शेष घले तपाईंको मात्र छोरा होइन्, धेरै नेपाली आमाको छोरा हो । बैशाख १२ गतेको महाभूकम्पपछि अष्ट्रेलियादेखि नेपाल आएर गाउँ गाउँका आमाहरुलाई सेवा गर्नुभयो, कयौँ दिनसम्म अन्न देख्न नपाएका दाजुभाइ, दिदीबहिनीलाई राहत दिनुभयो । हो, तपाईंलाई भेट्न आउन पाउनु भएन होला । त्यसैले तपाईँले आफूलाई अभागी नसम्झनु आमा ! झन् तपाईंले आँखाबाट आँशु झार्ने त कुरै भएन ।
हुन त हरेक आमा आफैमा महान हुन्छिन । उनीहरु भएभरको पीडा आफै बोकेर आफ्नो सन्तानलाई खुसी पार्न हतारिन्छन् । नौ महिनासम्म कोखको पीडा सहेर पनि सन्तानको खुसीका लागि आफ्नो हर खुशीहरुलाइ बलस् चढाउँछन् । आमा शब्दनै महान छ । तर, पनि तपाईँको महानताको उचाई निकै अग्लो छ । सिंगो नेपालीले गर्व गर्न लायक छ । तपाईँ विदेशीहरुसमक्ष शिर झुकाउन चाहनुभएन । तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँले भनिनै हाल्नुभयो, ५ सय रुपैँयाको एउटा चोलोले बर्षदिन कट्छ । अनि लोभ पनि केका लागि ? तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ । किनकी तपाईँको देशप्रेम र मातृभूमिप्रतिको माया अक्षरमा वर्णण गर्न सम्भव छैन् ।
श्रीमानप्रति कति अगाढ माया तपाईको ! दिनरात उहाँकै सम्झनामा डुब्नु हुँदोरहेछ । हुन त आमाको आँखामा आफ्नो सन्तान सँधै सानै हुन्छ । तर, आज तपाईँलाई शेषको आमा भनेर देशले चिनेको छ । शेष जस्तो सपुत दिने आमालाई देशले माया गर्छ, आँशु नखसालिदिनु होला । तपाईँ जस्तो साहसी आमाको आँखामा आँशु सुहाउँदैन ।
हुन त मानिसलाई धन र दौलतले कहिल्यै पुग्दैन् । अष्ट्रेलियाको अर्बौ सम्पत्ति भन्दा तपाईँलाई नायुको भेडाबाख्रा र खेतको मुल्य नै बढी छ । तर, तपाईँको छोरा धनले मात्र होइन्, मनले पनि सम्पन्नशील हुनुहुन्छ । अस्ति भर्खर एक अर्ब रुपैँयाको कल्याणकारी कोष स्थापना गरेको थाहा पाउनु भो ? त्यो विकट गाउँमा जन्मेको छोरालाई आज संसारले चर्चा गर्छ । यो नभुल्नु, शेष जस्ता छोराको आमा बन्ने शौभाग्य कमैले मात्र पाउँछन् ।
हो, तपाईले भोग्नु भएको पहिलेका ती पीडा गनिसाध्य छैनन् । तर, अब ती दुःख तपाईँबाट टाढा भागिसकेका छन् । सुखसयलसँग जीवन बिताउन सक्नुहुन्छ । संसारको जुनकुनै ठाउँमा पनि तपार्इँ सानको साथ आफ्नो जीवन जिउन सक्नुहुन्छ । तपाईको छोराले त्यो हैसियत कायम गरिसकेका छन् । अब दाउराको धुवाँमा पिरोलिनु पर्दैन, बिहानै उठेर पानी बोक्न पनि पर्दैन । हिँड्नु पर्दैन । घरको सिँडी ओर्लनु पर्दैन, लिफ्टबाट सरर झरे पुग्छ । तर, यी सबै सुविधा तपाईँका लागि मुल्यहीन छन् । मानिसहरु धर र दौलतको पछाडि दौडिरहेको बेला तपाईँ भने सारा सुख सम्पत्तिबाट टाढा हुनुहुन्छ, गाउँको सामान्य आमा हुनुमै गर्व गर्नुहुन्छ यो नै तपाईंको महानता हो ।
आमा मानिस रहरले को परदेशी हुन्छ र ? तपाईँ जस्तो कथा लाखौँ नेपाली आमाको कथा हो । किनकी शेषजस्ता लाखौँ नेपाली सपुतहरु यतिबेला परदेशी माटोमा श्रम र सीप बेचिरहेका छन् । त्यसैले तपाईँको कथा व्यथा पढेर धेरैले आफ्ना आमा सम्झेका छन्, धेरैले आँशु पनि खसाले होलान् । आफ्नो प्रिय परिवारलाई छाडेर परदेशमा बस्न कस्लाई मनलाग्छ र आमा ? त्यसैले आफूलाई कहिल्यै पनि अभागी नठान्नु होला आमा । बरु आफ्नो स्वास्थ्यको ख्याल राख्नु । दिर्घायूको कामना ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses