मधेसी मोर्चाले भन्यो–कि गर्न तयार हाै, कि मर्न तयार हाै
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मनिका झा |
२०७२ भाद्र १० बिहीवार

 मनिका झा
गृहमन्त्रीले जेल हाल्नछन् भने तयार छौं
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले मधेसमा अब ‘गर या मर’को अवस्था रहेकोले जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहन मधेसी जनतासमक्ष आह्वान गरेका छन् ।

विहीबार जनकपुरमा मोर्चाको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुको सहकार्यमा भएको लाठी जुलुश प्रर्दशनमा सहभागी सद्भावना पार्टीका अध्यक्ष महतोले आक्रोशित हुदैं भने, ‘अहिले आन्दोलनमा पछि हट्यो भने कहिल्यै अधिकार पाइँदैन । त्यसैले अब वारपारको आन्दोलनमा लागौं ।’


मधेसका अन्य जिल्लाहरुको तुलनामा शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेको जनकपुरमा मोर्चाका नेताहरु केन्द्रित भएपछि आन्दोलन आक्रामक बन्दै गएको छ ।

विहीबार हजारौंको संख्यामा गाउँगाउँबाट आएका सर्वसाधारणले पिडारी चोकबाट लाठी जुलुश प्रर्दशन गरेका थिए । जुलुशमा सहभागीको हौसला बढाउन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सयौं कार्यकर्तासहित मोटरसाइकलमा नारा जुलुश लगाउँदै सहभागी भएका थिए ।


यता, विहीबारै जनकपुरमा उपेन्द्र यादवले पत्रकार सम्मेलनको गरी राज्यले आफुहरुलाई आतंककारी भनेकाले पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई चेतावनी दिएका छन् ।

‘गृहमन्त्री गौतमले कुरा गर्नुको साटो मलाई समातेर जुन जेलमा राख्न चाहन्छन् भने त्यसको व्यवस्थामा लाग्दा हुन्छ’, उनले भने, ‘त्यसका लागि म तयार छु ।’

अहिलेको आन्दोलन कुनै सम्झौता वा वार्ताले समाप्त नहुने भन्दै यादवले अब आफूहरुले मुक्ति वा मृत्युको बाटो रोजिसकेको र मधेससँग भएको सम्झौता कार्यान्वयन नभए यो आन्दोलन निर्णायक हुने बताए ।

सरकारले वार्ताका लागि आह्वान गरेर नाटक गर्नुको साटो मधेसबाट सेनालाई ब्यारेकमा फिर्ता पठाएर विगतमा मधेसी, आदिवासी, जनजातिसँग गरिएका सम्झौता कार्यान्वयनको प्रतिबद्धता गरे आन्दोलन स्वतः थामिने नेता यादवको भनाइ थियो ।


राज्यले मधेसी, थारु, जनजाति, आदिवासीसहित पछाडि पारिएका वर्गलाई आफ्नो जनता नठानेकै कारण आन्तरिक मामिलामा सेना परिचालन गरी  निन्दनीय काम गरेको यादवले बताए ।

मधेशलाई उपनिवेश बनाउने प्रयासलाई निरन्तरता दिन संघीयता विरोधी मस्यौदा ल्याइएकाले अब जनताले यसलाई बर्खास्त नगर्ने यादवको भनाइे थियो ।

यसै क्रममा मोर्चाका अर्का घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीयता र पहिचानलाई थाती राखी मनोमानीरुपमा ढंगबाट संविधान जारी भए देशमा छुट्टै शक्तिको जन्म भइ गृहयुद्धमा जाने चेतावनी दिएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses