कस्तुरी हे बास आउँछ भन्छन्… आउँदैन त्यो किन यो दिनैमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कस्तुरी हे बास आउँछ भन्छन्… आउँदैन त्यो किन यो दिनैमा

संगीत स्वच्छन्द रूपमै सिर्जना गर्ने कुरा हो । तर, स्वच्छन्द रूपमा सिर्जना भएको संगीत पनि कुनै न कुनै नियममा बसेकै हुन्छ । मूल कुरा यो हो, आफूले सिर्जना गरेको संगीत कुन व्याकरण अर्थात् ताल, सूरमा छ भनेर बुझ्नैपर्ने हुन्छ । वर्तमान नेपाली संगीतको दुर्भाग्य के हो भने, अहिले बजारमा हल्ला पिटेका संगीतकारलाई संगीतको व्याकरणबारे कम जानकारी भए जस्तो देखिन्छ ।


आशिष अविरल, संगीतकार
कस्तुरी हे, बास आउँछ भन्छन्, सुनमाया आउँदैन त्यो किन, हो यो दिनैमा ।
हो, पैले माया हाँसेर लायौ, सुनमाया अहिले पो चाल पायौ, हो यो दिनैमा ।।
नेपालीपन झल्कने गीत झट्ट सम्झँदा मैले यही गीत सम्झन्छु । नारायणगोपालले गाएको यो गीतमा नेपालीपन पाउन सकिन्छ । यो गीतमा माया हराएको छ । तर, आजका दिनमा नेपालीपनको संगीत हराएको छ, कस्तुरीको बास्ना हराएजस्तै ।
मलाई रन्जित गजमेरका संगीत मौलिक लाग्छन् । रन्जित गजमेरको संगीत रहेको ‘सपना भई आँखामा आउने को होला… बोलको गीत सुन्दा अर्कै अनुभव हुन्छ । फूलको थुंगा बहेर गयो, गंगाको पानीमा… । नातिकाजीको संगीत रहेको यो गीतमा नेपालीपन छ । गायकीका दृष्टिले मलाई अरुण थापाले गाएको ‘आँखाको निद खोसी लाने हृदयको तरंग छेडी जाने, तिमीलाई के सजाय दिउँ’ बोलका गीत मन पर्छ । यद्यपि, यो गीत पनि पाश्चात्य संगीतमै आधारित भएर सिर्जना गरेजस्तो लाग्छ । तर, यसको गायकी चाहिँ निकै नै तारिफयोग्य छ । नारायणगोपालले गाएको ‘हिमालसरी म अग्लिरहेछु’ बोलको गीतले नेपालीपनको आभास दिन्छ । यस्ता नेपाली मौलिकता झल्कने गीत सुनेर, जानिनजानी गाएर नै संगीततर्फ आकर्षित भइयो । तर, आज नेपाली संगीत खस्केको देख्दा दुःख लाग्छ ।
अहिले नेपाली संगीतमा कसरी टिक्ने, कसरी प्रभुत्व जमाउने भन्ने चिन्तन र प्रवृत्ति हाबी छ । संगीतका सर्जकहरु, गायकहरु अहिले रातारात चर्चा कमाउन उद्यत् छन् । अहिले मौसमी गीत अर्थात्, तत्काल फाइदा पुर्याउने गीतको सनसनी छ । कोही सोखले संगीत गरेका छन् । कोही धेरै सिआरबिटी जाने खालको संगीत गरेर रातारात धनी हुने धुनमा छन् । अथवा, जसले आफ्नो गीतलाई बढीभन्दा बढी मार्केटिङ गर्न सक्छ, उनीहरु नै संगीत क्षेत्रमा हाबी भएका पनि छन् । उनीहरुकै गीत बजारमा छाएका छन् । अहिले नेपाली संगीत पूर्णरूपमा बजारमुखी छ । यसकारण, पछिल्लो पाँच–सात वर्षयता नेपाली संगीत क्षेत्र शून्यजस्तै छ । खासै राम्रा सिर्जना आएका छैनन् ।
संसार एउटा नियममा छ, गणितमा छ । त्यस्तै, संगीतको पनि एउटा नियम, गणित र व्याकरण हुन्छ । संगीत कस्तो हुने, कसरी बन्ने भन्ने नियम छ । यद्यपि संगीत स्वच्छन्द रूपमै सिर्जना गर्ने कुरा हो । तर, स्वच्छन्द रूपमा सिर्जना भएको संगीत पनि कुनै न कुनै नियममा बसेकै हुन्छ । मूल कुरा यो हो, आफूले सिर्जना गरेको संगीत कुन व्याकरण अर्थात् ताल, सूरमा छ भनेर बुझ्नैपर्ने हुन्छ । वर्तमान नेपाली संगीतको दुर्भाग्य के हो भने, अहिले बजारमा हल्ला पिटेका संगीतकारलाई संगीतको व्याकरणबारे कम जानकारी भए जस्तो देखिन्छ ।
एउटा औषधि पनि विभिन्न तत्वबाट बनेको हुन्छ । ती तत्वको निश्चित मात्राको समिश्रणबाट औषधि तयार हुन्छ । त्यस्तै, एउटा गीतको कम्पोजर वा संगीतकारलाई संगीतमा प्रयोग हुने तत्व थाह हुन आवश्यक छ । त्यसको प्रयोग गर्ने विधि बुझ्न आवश्यक हुन्छ ।
स्वच्छन्द रूपमा सिर्जना भएको संगीतलाई काँटछाँट गर्नुपर्ने हुन्छ । त्यसलाई सूर, तालमा मिलाउनुपर्ने हुन्छ । कति बार बढी भयो, कति कम भयो, त्यो कम्पोजका नोटहरु रिलेटिभ पर्यो कि परेन आदि बारे ज्ञान हुनु आवश्यक छ । यसबारे राम्रो गुरुसँग सिक्नैपर्ने हुन्छ ।
तर, हाम्रोमा संगीतको आधारभूत ज्ञान पनि नसिकी आफ्नै ढिपीमा संगीतकार बन्ने प्रवृत्ति बढ्दो छ । यसले पछिल्लो समय नेपाली संगीतलाई बहकाइरहेको छ । सामान्य श्रोतालाई कुन राम्रो र कुन नराम्रो भनी सोच्ने अवसरै दिएको छैन, भ्रममा पारिरहेको छ ।
उदाहरणका लागि हामीले हिन्दी संगीतलाई राम्रो मान्न थाल्यौँ, सुन्न थाल्यौँ, पछ्याउन पनि थाल्यौँ । तर, कुनै एक हिन्दी गीतको सिर्जना गलत थियो, त्यो गीतको रचना संगीतको विधि–नियममा थिएन । हामीले नबुझेपछि त्यसलाई पनि राम्रो भन्छौँ, फलो गर्छौं । त्यस्तै, लिँडेढिपी र संगीतको व्याकरण नबुझी बनिरहेको गीतले बजार लिन थाल्यो भने, त्यसले श्रोतालाई त भ्रममा पार्छ नै, संगीत क्षेत्रमा आउन चाहने नयाँ पिँढीलाई पनि भ्रममा पार्छ ।
अहिले नेपालमा स्तरीय संगीतको विकास हुन अपरिहार्य छ । संसारमा अन्य भाषाका गीतले अन्तर्राष्ट्रिय बजार लिइरहेको छ । हामीले पनि नेपाली माटो सुहाउँदो गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्छौँ । तर, यसो हुन नसक्नुमा ज्ञानको अभाव नै हो ।
विश्वस्तरमा हाबी भएका हलिउड, बलिउडका संगीतलाई पछ्याएर नेपाली संगीत कहिल्यै उँभो लाग्दैन । त्यो धारलाई पछ्याएर अन्तर्राष्ट्रिय स्तरको संगीत सिर्जना गर्छु भन्नु हाम्रो मूर्खता हुन्छ । त्यसो गरेर कुनै पार लाग्दैन । केही हुँदैन । विकसित देशको चिजलाई प्रवद्र्धन गर्न उहीँ नै खुनकार मानिस छन् ।
हामीले नेपाली भाषा, नेपाली माटो, नेपाली लोक–संस्कृतिमा आधारित संगीतलाई नै विश्वस्तरमा पुर्याउन सक्छौँ । त्यसका लागि हामीले अहिलेको आधुनिक प्रविधिको सहारा लिनैपर्ने हुन्छ । यो विज्ञान–प्रविधिको युगमा प्रविधिको प्रयोग गर्नु कुनै नक्कल होइन । यो स्वाभाविकै हुन्छ । वर्तमान नेपाली संगीतको कमजोरी भनेको विज्ञान–प्रविधि र आधारभूत ज्ञान नै हो ।
हामीले नेपालीपनको संगीतलाई नयाँ सोच, टेक्नोलोजीका माध्यमबाट माथि उठाउन आवश्यक छ । हाम्रा विभिन्न संस्कृति छन्, तीनमा विभिन्न नाचगान छन् नै । ती हाम्रो माटो, वातावरणबाट जन्मेका संस्कृति हुन् । तिनलाई अब हामीले नयाँ टेक्लोलोजीमा ढाल्नुपर्यो, नयाँ–नयाँ फ्लेबर दिनुपर्यो । जुन सिर्जना विश्वका लागि नयाँ हुन सक्छ । यसरी नै हामीले हाम्रो संगीतलाई विश्वस्तरमा लैजान सक्छौँ ।
जस्तो, उदाहरण लागि ल्याटिन अमेरिकाको कुनै लोकगीत आज विश्वव्यापी भइरहेको छ, यसको पछाडि पुँजी त हो नै, सँगसँगै प्रविधि पनि हो । त्यसैले हामीले हाम्रो लोकगीतलाई विश्वव्यापी बनाउन नयाँ स्वादसँगै नयाँ प्रविधि आवश्यक छ । संगीतको आधारभूत ज्ञान बुझेर, नयाँ प्रविधिले सिँगारेर हामीले हाम्रै लोक धुनलाई विश्वस्तरमा लैजान सक्छौँ । भइदियो के भने, पैसावालाहरुले सोखको लागि गर्ने अथवा कतिपयले मञ्चमा मान्छे उफार्नका लागि संगीत गर्न थाले र हाम्रो संगीत अहिले बिल्कुलै खस्कँदो छ ।

उहिले तानसेनले दीपक राग गाएर आयो पारे, अनि उनकै छोरीले मेघराग गाएर पानी पारिन् पनि भनिन्छ । यसमा आफ्नै सत्य, व्याख्या होला । जेहोस्, अहिले पनि महसुस गर्न सकिन्छ, स्वरको कम्पनमा एकखालको खास शक्ति हुन्छ । कुनै धुनले हामीलाई उत्तेजित पार्छ भने कुनै धुनले भावुक अथवा निराशजस्तो पनि तुल्याउँछ ।
शोक परेका बेला बजाउने धुनले हाम्रो मनमा पनि कुनै न कुनै शोकको अनुभूति गराउँछ । त्यस्तै, पार्टी वा उत्सवमा बजाउने धुनले रमाइलो अनुभूति गराउँछ । यसले के प्रमाणित गर्छ भने भिन्न–भिन्न लय, तालसहितको स्वर वा धुनको कम्पनले हाम्रो मनमा फरक–फरक भावना उत्पन्न गराउँछ नै । त्यस्तै भीडलाई उत्तेजित गर्ने वा मत्थर पार्ने गीत पनि छन् । यहाँनेर, नेपाली संगीतको विडम्बना यो पनि हो, अचेल मञ्च तताउने गीतको बिगबिगी छ । सबै मञ्चमा तहल्का मच्चाउन चाहन्छन् । यसको मतलब, अहिलेको संगीत सर्जक वा गायक भेल भएर उर्लापात मच्चाउन चाहन्छ । यसले पनि नेपाली गीतको गुणात्मकतालाई गिराइरहेको छ । राम्रो गर्न खोज्नेहरु आफैँ साइड लाग्न पुगेका छन् । खराब कुराको बाढीले राम्रा चिजलाई ओझेलमा पारिरहेको अवस्था छ । तर, यो समय धेरै टिक्दैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses