३० वर्षे रोनाल्डोको सबैभन्दा ठूलो सहयोग
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, बैशाख २७,
पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका छन् ।
विश्वकै सबभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले भुकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको छ ।
सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै् स्थान दिएका छन् । तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन ।
३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा यो सबैभन्दा ठूलो सहयोग भएको समाचार कान्तिपुर दैनिकले छापेको छ । गोरखाको वारपाकलाई केन्द्रविन्दू बनाएर १२ वैशाखमा ७.६ रेक्टरको भुकम्प गएको तीन दिनभित्रै रोनाल्डोले भुकम्पबाट प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनमार्फत् राहत दिनको लागि ट्विटर फेसबुकमार्फत् अपिल गरेका थिए । सेभ द चिल्ड्रेन नेपाललाई सहयोगको लागि १ करोड डलर संकलन गर्ने अभियानमा छ ।
दुई वर्षअघि सेभ द चिल्ड्रेनको ग्लोबल आर्टिस्ट एम्बासडोर भएका उनी मैदानमा निक्कै आक्रमक देखिन्छन् तर मैदानबाहिर भने दयालु र सहयोगी छन् । उनले गत वर्ष १० महिने बालकको उपचारको ब्रेन सर्जरीको लागि ६० हजार युरो (करिब ६० लाख रुपियाँ) दिएका थिए । सन् २००४ मा इन्डोनेसियामै पुगेर उनले भुकम्प पीडितलाई सहयोग गरेका थिए । गरिब परिवारमा जन्मिएका उनले गृहनगर मेडिइरा, मध्यपूर्वको युद्धभूमि गाजा, अफ्रिकामा इबोलाविरुद्धको अभियानमा पनि ठूलै सहयोग गरेका थिए ।
पोर्चुगलको स्पोर्टिङ र इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडका यी पूर्वखेलाडीको फेसबुकमा १० करोड २० लाख र ट्विटरमा ३ करोड ५४ लाख फलोअर्स छन् । उनी फोव्र्सका अनुसार ८ करोड डलर (करिब ८० करोड रुपियाँ) सहित सन् २०१४ मा सबभन्दा बढी कमाउने फुटबलर हुन् । उनको बार्षिक तलब ५ करोड २० लाख डलर छ । उनले अरु कमाई इन्डोर्समेन्टबाट गरेका हुन् । बजार प्रवर्धनको लागि सबभन्दा प्रभावशाली खेलाडी मानिएका उनी तीन पल्टका फिफा बेलुन डे’ओर (विश्वको सर्बोत्कृष्ट फुटबलरको अवार्ड) विजेता हुन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses