संविधानसभा भवनमा पाल काण्ड: भूकम्पपीडितको पाल लिन सभासद्बीच घम्साघम्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, वैशाख ३० –जनताले मनसुनको समयमा त्रिपाल नपाएर खुला आकाशमा बसीरहेको बेला संविधानसभा भवन नयाँ बानेश्वरमा भने सभासदहरुलाई त्रिपाल वितरण गरिएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालका भूकम्प पीडितलाई प्रदान गर्न भनेर दिएको पाल संविधानसभामा वितरण गरिएको हो ।
पाल वितरणमा चर्को विरोध भएपछि केही सभासदले भने पाल फिर्ता गरेका छन् ।
संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सहरी विकास मन्त्रालयले दिएको पाल आफूहरुले सभासदलाई वितरण गरेको जानकारी दिए ।
सबै सभासदले पाल नपाएपछि संविधानसभा नयाँ बानेश्वरमा सभासदहरुबीच नै चर्को विवाद भएको थियो । विवाद भएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाल वितरण रोक्न सचिवालयलाई निर्देशन दिएका छन् । पाल लिनका लागि नेकपा(एमाले)का सभासद हारालुछ गरीरहेका थिए । प्रवक्ता शर्माले भने लाने सभासदले लगिसके फिर्ता गर्ने तथा नगर्ने कुरा सभासद कै भएको बताए ।
राप्रपा नेपालका सभासदले भने पाल नलिने भन्दै वितरण प्रक्रियाप्रति नै असहमति जनाएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल टिवटरमा टिवट गर्दै पाल वितरण प्रक्रिया गलत भएको भन्दै आफुहरु भने नलिने बताएका छन् ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने व्यक्तिगत हिसाबले आफूले पाल नलिएको बताए । सरकारी राहत नलिने पहिल्यै घोषणा गरेकाले पाल नलिएको उनको भनाइ छ ।
काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका सभासद राजेन्द्र पाण्डे, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देवलगायतले पाल लिन लुछाचुडी गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने पाल प्रकरणमा प्रतिक्रिया दिन चाहेनन् ।
एमाओवादीले भने पाल दोलखा पठाउने
पाल प्रकरण चर्कदै जाँदा संविधानसभा नयाँ बानेश्वरमा पाल लिने र नलिने सभासदहरु दूई धु्रवमा विभक्त भएका छन् । राप्रपा नेपालले जनता खुला आकाशका बसीरहेको बेला आफुहरु पाल नलिने र लिएको भएपनि फिर्ता गर्ने बताएको छ ।
एकीकृत नेकपा(माओवादी)ले भने संसद सचिवालयले वितरण गरेको पाल बुझेर दोलखाका भूकम्प पीडितलाई पठाउको छ । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले भने आफ्नो पार्टीका कुनै सभासदले पाल लिएको भए दोलखा पठाउन निर्देशन दिएको बताए ।
प्मल वितरण गर्ने कुरा हामीलाई थाहा थिएन । जनताले पाल नपाएको बेला पाल वितरण भइरहेको छ । निजी ढङ्गले लिएका छन् । हाम्रो तर्फबाट रोक्न लगाएको र लिएकालाई दोलखा पठाउन निर्देशन दिइएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses