चिरा-चिरा परेर दोलखामा जमिन भाँसियो, स्थानीय घर छाडेर भागे
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चिरा-चिरा परेर दोलखामा जमिन भाँसियो, स्थानीय घर छाडेर भागे
सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाइदिन माग
२०७२ वैशाख २३ गते
चरिकोट गाउँमा भूकम्प जाँदा लापिलाङ गाविस–६ का बासिन्दा अमृतबहादुर थामी भारतको दार्जिलिङमा थिए । लामो समयदेखि दार्जिलिङमा मजदुरी गर्दै आएका थामी घरपरिवारको अवस्था थाहा पाउन मङ्गलबार मात्र गाउँ आइपुगेका हुन् । भूकम्पका कारण पाँच छोराछोरी र श्रीमतीको बिचल्ली देखेर उनी बेलाबेलामा भक्कानिन्छन् मात्र । तर गाउँका अन्यको अवस्था पनि आफ्नो जस्तै भएका कारण थामीले आफूलाई सम्हाल्दै आएका छन् ।
“छोराछोरी मरे बाँचेको थाहा पाउन आएको हुँ, गाउँमा त सबैको स्थिति उस्तै रहेछ,” बुधबार करेसाबारीमा टहरा बनाउँदै गरेको अवस्थामा भेट्टिएका थामीले भने – “यहाँ बस्नै नसकिने भयो, सहयोगका लागि कसलाई गुहार्ने ? सबैको हालत मेरो जस्तै छ ।” भूकम्प आएको बाह्र दिन बित्दा पनि थामी परिवारले त्रिपाल समेत पाउन सकेको छैन । उनले गाउँकै गुजरपा निमाविको कर्कटपाता प्रयोग गरी टहरा बनाएका छन् ।
“टहरा निर्माण गर्न कुनै उपाय भएन, भवन भत्किएकाले विद्यालयकै कर्कटपाता प्रयोग गरी ओत लाग्ने ठाउँ बनाएको छु,” उनले भने । विद्यालयको कर्कटपाता प्रयोग गरी बनाएको टहरामा अहिले तीन परिवारका २५ जना बस्दै आएका छन् । उनीहरुले भूकम्प आएदेखि कुनै पनि राहतको सामग्री नपाएको दुःखेसो पोखे । लापिलाङ–६ वडामा थामी समुदायको एक सय ६५ परिवार बस्दै आएका छन् ।
लापिलाङ–५ गोदुङकी दुर्गा थामी टहरामा एकसरो लुगामा भेट्टिइन् तर उनका तीन छोराछोरीको अवस्था पनि उनको जस्तै छ । भूकम्प आएपछि ज्यान जोगाउन भाग्दा घरभित्रबाट लुगाफाटो निकाल्नै भ्याएनन् । “लुगाफाटो सबै पुरिएकाले निकाल्नै सकिएन्, छोराछोरी नाङ्गै रहने भए,” थामीले भने – “खानबस्न त धौ धौ परिरहेको छ, लुगाफाटो कहाँबाट ल्याउनु ?” लुगाफाटो मात्र होइन अन्न समेत सबै घरभित्रै पुरिएकाले भोकभोकै बस्नु परिरहेको उनले बताए । भूकम्पपछि गाउँमा राहत सामग्री ल्याएर कोही पनि नआएको उनको गुनासो छ ।
सदरमुकाम चरिकोटबाट करिब ४० किलोमिटरको दूरीमा पर्छ लापिलाङ गाविस । यो थामी समुदायको बाहुल्यता रहेको गाविस हो । जिल्ला विकास समितिको तथ्याङ्क अनुसार लापिलाङमा एक हजार ४४२ घरधुरी रहेका छन् । यसमध्ये ५४ प्रतिशत थामी समुदायका बासिन्दाको बसोबास रहेको छ ।
भूकम्पपिछि यहाँको जमिन चिराचिरा परेको छ । घर त क्षतिग्रस्त बनेकै छ, तर जमिन समेत बस्नै नहुने गरी भाँसिएको अवस्था छ । घर भत्किनुका साथै जमिन भासिएपछि आर्थिक अवस्था कमजोर भएको थामी समुदायलाई अहिले मर्नु न बाँच्नु भएको छ । “यहाँ त अब बस्नै मिल्दैन, अन्यत्र बसाई सर्न पैसा छैन,” स्थानीय बासिन्दा रमेश थामीले भने – “सरकारले सुरक्षित ठाउँमा वसोवासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”
अशिक्षित र बेरोजगारीका कारण यहाँको थामी समुदायका मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । भारतवाहेक अन्य मुलुकमा रोजगारीका लागि जान सक्ने स्थिति नभएको उनीहरु बताउँछन् । “दार्जिलिङ र आसामतिर गएर मदजुरी गरेको कमाइले बाँचेका छौँ,” भूकम्पपछि परिवारको स्थिति थाहा पाउन सोमबार मात्र घर फर्केका रमेशले भने ।
लापिलाङमा थामी समुदायकै जस्तै हविगत अन्यको पनि भएको छ । स्थानीय बासिन्दा राजेश पाण्डेयले राहत सामग्री नपाएको खबर पाएपछि दार्जिलिङको गुमभञ्ज्याङबाटै त्रिपाल बोकेर गाउँ फर्किए । तर श्रीमती र छोराछोरी घरमा भेट्टिएनन् । श्रीमती सवित्रा, एघार वर्षीय छोरा सुजन, आठ वर्षीया छोरी सुजाता तथा अर्का चार वर्षीय छोरा सुदिपलाई बोकेर राहत माग्न सदरमुकाम चरिकोट गएको थाहापाएपछि राजेश बेचैन छैन ।
“गाउँमा राहत दिन कोही आउने छाँटकाँट देखिन्न, म एक्लै बसेर भएन,” सदरमुकाम चरिकोट जान हतारिएका पाण्डेयले भने ।
भूकम्प आएको एघार दिनपछि लापिलाङ गाविस सचिव सुज्ञान भण्डारी गाउँमा त देखिए तर राहत सामग्री नल्याइकनै । डरैडरले गाउँ पसेका भण्डारीले पीडित परिवारलाई मङ्गलबारदेखि प्रति घरधुरी दुई हजार रुपैयाँका दरले राहत रकम बाँड्न थालेका छन् । “रकम लिन मानिरहेका छैनन्, पहिला राहत सामग्री देउ, अनि मात्र रकम भन्न थालेका छन्,” सचिव भण्डारीले भने – “राहत सामग्री नल्याइकन आउँदा असुरक्षित ठानिरहेको छु ।” थौरै राहत सामग्री लिएर गाउँ गएका सचिव लुटपाटमा परेको घटना सुनेर डराएका उनी रकम मात्र बोकेर आएका हुन् ।
लापिलाङ गाविसमा भूकम्पबाट तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । भूकम्पबाट जिल्लामा ५२ हजार घरधुरी प्रभावित बनेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार आठ हजार त्रिपाल मात्र जिल्लामा भित्रिएको अवस्था छ । यसमध्ये बुधबारसम्म चार हजार त्रिपाल जिल्लामा ढुवानी गरिसकिएको छ ।
स्थानीय प्रशासनले प्रति गाविसलाई ४०÷४० वटा त्रिपाल छुट्टयाएको थियो । न्यून त्रिपाल लिएर गाउँ गएका सचिव बाटोबाटै लुटिन थालेपछि अहिले त्रिपाल वितरण बन्द गरिएको छ । दोलखामा ४८ गाविस र दुई वटा नगरपालिका छन् । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses