‘त्यही कालेसँग बिहे होला भनेर डर लाग्यो’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सपना प्रधान मल्ल
नवलपरासीमा जन्मिएँ । प्राथमिक शिक्षा त्यहीँ भयो । पाँच वर्षमा स्थानीय पवन प्राथमिक स्कुल भर्ना भएँ, शिशु कक्षामा । गाउँमै त्यही एउटा मात्र स्कुल थियो । तराईको वातावरण भएकाले घाँगर लगाउँथ्यौँ । अहिलेका केटाकेटीलाई जस्तो टिफिन हुँदैनथ्यो हामीलाई, घरबाट पैसा पनि दिँदैनथे । बढीजसो खाने भनेको पाँच–दश पैसामा पाइने बरफ हो ।
घरअगाडि मिठाई पसल थियो । पसलेको छोरा साथी भएकाले म सित्तैमा खान पाउँथेँ । कहिलेकाहीँ बुबाले तातोतातो जुलेबी किनेर खुवाउनुहुन्थ्यो । उफ्रीउफ्री खान्थ्यौँ हामी ।
बुबाको पान खाने बानी थियो । घरमा पान बनाउने सामग्री जहिल्यै हुन्थे । म गाउँभरिका केटाकेटी जम्मा गर्थें, अनि सबैलाई पान बाँडिदिन्थेँ । यसबापत बुबाको गाली खुब भेटिन्थ्यो । घरभरि केटाकेटी जम्मा पारेर फोहोर बनाएको आरोप हुन्थ्यो ममाथि ।
अहिलेजस्तो कम्प्युटरमा खेल्ने जमाना थिएन । डन्डीबियो, गट्टा, पुतली, लुकीमारी खेल्थ्यौँ । पुतली त एसएलसी दिने बेलासम्मै खेल्थेँ । टेलरमा गएर टालाटुली बटुलेर पुतली बनाउँथ्यौँ । पुतलीको बिहे गरिदिन्थ्यौँ । मेरी एक जना मारवाडी साथी थिइन् । उनीसँग एक दिन पुतलीको बिहे खेल्दै थिएँ । उनी मेरी सम्धिनी बनेकी । सम्धिनीलाई मनितो गर्न भनेर घरबाट एउटा अन्डा लिएर आएकी त उनी टाप ठोकिन् । उनीहरू शाकाहारी हुन् भन्ने मलाई थाहै भएन ।
घरनजिकै तजिया मेला लाग्थ्यो । एक दिन घरमा नभनिकन गएँ, गन्जी र कट्टु मात्र लगाएर । फर्केपछि बुबाले खुब गाली गर्नुभयो । एकचोटि खेल्दाखेल्दै कानको रिङ हरायो, रुँदै घर आएँ । गल्ती लुकाउन पहिल्यै आफू रोइदिन्थेँ म त । सुरुमै रोइदिएपछि गाली खानुपर्दैन भन्ने लाग्थ्यो । त्यो दिन पनि गाली खाइनँ । साथी–साथी मिलेर गाउँमा आँप–लिच्ची खुब चोथ्र्यो । घरमा पनि थियो तर चोरेर खाएको चाहिँ खुब मिठो लाग्थ्यो । चोर्नुमा पनि रमाइलो पो थियो त !
गाउँको स्कुलमा पाँच कक्षा सकेपछि काठमाडौ्ं आएर नेपाल आदर्श माबिमा भर्ना भए । काली थिएँ, तराईबाट आएकी सोझी केटी । स्कुलमा मलाई साथी र सरहरूलेसमेत मलाई मडिसानी, अफ्रिकन, निग्रो भन्थे । म सोझी भएकाले सबैले हेप्थे, अन्तिम बेन्चमा बस्थेँ । फाइनल जाँचमा म थर्ड भएँ, दाजु (काकाको छोरा) फस्र्ट भयो । त्यसपछिचाहिँ त्यहाँ हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो । गाउँबाट आएका मान्छेले पनि राम्रो पढ्दा रहेछन् भन्न थाले ।
मलाई फिलिम हेर्न खुब मन लाग्थ्यो । जब स्कुल बिदा हुन्थ्यो, हल पुगिहाल्थ्यौँ । रञ्जना, विश्वज्योती, जयनेपाल त कहिलेकाहीँ भक्तपुरका हलसम्म पुग्थ्यौँ । टिफिन खान घरबाट दिएको पैसा बचाएर टिकट किन्थ्यौँ । लंगुरबुर्जा पनि देख्यो कि खेलिहाल्नुपर्ने । एक दिन घरबाट तरकारी किन्न २० रुपियाँ दिएर पठाएका थिए । बाटोमा लंगुरबुर्जा खेलाउँदै रहेछन् । जितिएला कि भनेर खेल्न थालेको, सबै हारिहालेँ । अनि रुँदैरुँदै घर फर्किएँ । पैसा हरायो भनेर ढाँटेँ ।
हाम्रोमा केटीलाई गुफा राख्ने चलन थियो । मलाई एघार वर्षको उमेरमा गुफा राखे, सँगै अरू दुई जना पनि थिए । गुफा बस्दा कोही केटा देखिए उसैसँग बिहे हुन्छ भन्थे । हामीलाई गुफा राखिएको ठाउँनजिकै बुबाको बन्दुक थियो । काम गर्ने केटो फुत्त बन्दुक लिन आएछ, हामीले देखिहाल्यौँ । लौ बर्बाद भयो, अब यही काले मधिसेसँग हाम्रो बिहे हुने भयो भनेर हामी आत्तियौँ । हुँदैन भन्दाभन्दै पनि गुफाबाट चिच्याई–चिच्याई भाइलाई बोलाउँथ्यौँ । गुफा बसेर निस्किँदा पोलिस्टरको नयाँ लुगा पायौँ, दंग पर्यौँ । नत्र त नयाँ लुगा लगाउन दशैं आउनुपर्यो ।
चौध–पन्ध्र वर्षकी हुँदी हुँ । एक दिन भाइले चुरोट खाउँm भन्यो । लैलैमा लगोर चुरोट खाएको हजुरआमाले देखिहाल्नु भयो । भाइले भन्दा बढी मैले गाली खाएँ । ‘भाइलाई पनि झन् सम्झाउनुपर्नेमा आफैँ बिग्रिन्छेस्’ भनेर हपार्नुभयो । त्यसपछि चुरोट कहिल्यै छुइनँ । जाडो बिदामा काठमाडौंबाट गाउँ जाँदा रमाइलो लाग्थ्यो । उखु खाँदै गाउँ भरी घुम्थ्यौँ । एसएलसी पास हुँदा बुबाले घडी र नयाँ लुगा किनिदिनुभयो । केके न पाएजस्तो भाथ्यो ।
विद्रोही स्वभाव पनि थियो ममा सानैदेखि । घरमा तल्लो जातका भनिने मान्छे काम गर्न आउँथे । उनीहरूले छोएको भाँडा, पानी अशुद्ध हुन्छ भनिन्थ्यो । म उनीहरूलाई पानी छुवाइदिन्थेँ । बुबाआमाले देखे गाली गर्नुहुन्थ्यो । नौ वर्षकी थिएँ, आमा काठमाडौँ आउनुभएको थियो । खाना बनाउन थालेँ । आलु र भिन्डीमा झोल हालेर पकाएको बुबाले गाली गर्नुभयो । मलाई पकाउन पनि त आउँदैनथ्यो । अहिले बुबाको दाँत छैन । कहिलेकाहीँ सम्झनुहुुन्छ– ‘बुझिस् छोरी, उतिबेला तैँले पकाएजस्तो भिन्डी नै ठीक हुँदो रहेछ, चिप्लो अनि मीठो ।’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses