३५ लाखमै एमबीबीएस पढाउन सकिन्छ: स्वास्थ्यमन्त्री
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तनहुँ, श्रावण १५ - स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकरीले स्वास्थ्य क्षेत्रमा विकृति धेरै रहेको र आफू सुधारको लागि अग्रसर भएको बताएका छन् ।

दमौली अस्पतालको शुक्रबार उद्‍घाटन गर्दै मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा डाक्टर बन्नदेखि औषधि बिक्री गर्दासम्म चरम विकृति रहेको बताए । विकृतिको मारमा सोझा र विपन्न विरामीहरु पर्ने गरेकाले त्यसकोविरुद्वमा नागरिक समाज सकृय हुनु पर्नेमा उनले जोड दिए ।

एमबीबीएस पढ्नका लागि ६०/७० लाख रुपैयाँ लिने र एमडी गर्न करिव १ करोड खर्च हुने परिपाटीलाई निरुत्साहित गरी ३५ लाख रुपैयाँमा एमबीबीएस पढ्न पाउने प्रभावकारी नीति लागु गर्ने तयारीमा रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा सुधार गर्नु पर्ने धेरैकुराहरु रहेछन्,’ उनले भने, ‘अब ३५ लाख रुपैयाँमा नै एमबीबीएस पढ्न पाउने व्यवस्था गर्ने छौं ।’

सरकारी लगानीमा डाक्टर बनेकाले निश्चित समयसम्म सरकारी अस्पतालमा सेवा गर्नु पर्ने बाध्यकारी नियम बनाउन लागेको उनले बताए ।

विरामीले उपभोग गर्ने एकै खालका विभिन्न कम्पनीका औषधिको मूल्य फरक फरक रहेको र आफू मुल्य एक हुनु पर्छ भनेर अग्रसर भएको उनले बताए । ‘क्यान्सरको औषधि त झनै कुनै सस्तो छ कुनै अत्यन्त महँगो छ,’ मन्त्री अधिकरीले भने, ‘एउटै काम गर्ने औषधिको मुल्य फरक फरक छन् ।’

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनकै लागि आफूले सरकारी अस्पतालमा सरकारी फार्मेसी सञ्चालन गर्नु पर्ने प्रावधान राखेको उनले बताए ।

प्रकाशित मिति: २०७२ श्रावण १५ ०४:०३ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses