लोकमानको फोटो खिच्दा जागिर गुमाएका पत्रकारको बयान
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

साउन  गते सोमबार त्यस्तै दिनको दुई बजेको थियो । म बालुवाटार हुँदै भाटभटेनीतर्फ जाँदै थिएँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेपछि सुरक्षार्कीको स्कर्टिङमा रहेको कालो सिसा भएको गाडीले मलाई ओभरटेक गरेर अघि बढ्यो । कालो सिसा भएको गाडीको पछाडिको गाडीमा रहेका सुरक्षाकर्मीले सडकमा गुडिरहेका सवारी साधनलाई ओभरटेक नगर्न संकेत गरिरहेका थिए । यो क्रम चलिरहँदा म भाटभटेनी चोकमा पुगेँ । म भन्दा अघि गएको त्यो गाडी भाटभटेनीअघि पुगेको रहेछ । सुरक्षाको कारण भन्दै ट्राफिक प्रहरीले दुवैतर्फका सवारी रोकेका रहेछन् । धेरै जाम भएपछि सबै गाडीले चर्को हर्न बजाउन थालेपछि वातवारण
कोलाहालपूर्ण बन्दै गयो ।
सञ्चारकर्मी हुनुको नाताले वास्तविकता बुझ्ने कौतुहलता बढेर गयो । सडक छेउमा मोटर सााइकल साइड लगाएर म अघि बढें । बटुवा र स्थानीयलाई साधेपछि थाहा भयो कालो सिसावाला गाडी अख्तियार प्रमुख लोकमानसिंक कार्कीको रहेछ । उनकै गाडीले बाटो जाम गराएको थियो । मेरो जिज्ञाशाको जवाफमा एक व्यापारीले अख्तियार प्रमुखले केही सामान बिर्सनु भयो होला र सामान कुरेर बस्नुभएको होला भन्ने जवाफ दिए । उनको जवाफ चित्त बुझ्दो लागेन । त्यसपछि ममा थप कौतुहलता जागेर आयो । अरुलाई नै नियम र सदाचारको पालना गराउने र अख्तियारीको दुरुपयोग गरेको खण्डमा कारबाही गर्ने निकायका प्रमुखले नै ट्राफिक नियम उल्लंघन गर्न मिल्छ ? पद र अख्तियारको दुरुपयोग गर्न पाइन्छ ? यी र यस्तै प्रश्न मेरो मनमा उब्जिएपछि तिनलाई साम्य पार्न मै मोबाइलबाट फोटो खिचेँ । झोलामा एसएलआर क्यामेरा थियो । क्यामेरा झिकेर लेन्स मिलाउन थाल्दा ढिलो हुने ठानेर मोबाइलबाटै काम चलाएँ ।
२ वटा फोटो खिचेपछि अख्तियारको गेटमा खटिएका सुरक्षाकर्मीले गाली गर्दै मलाई लछारपछार पारे । फोटो डिलिट गर्न दबाब दिए । उनीहरुले मलाई बलजफ्ती अख्तियार परिसरभित्र लैजान खोजेका थिए । तर मैले मानिन । भित्र पस्न नमानेपछि क्यामेरा, झोला र सडक किनारामा राखिएको मोटरसाइकल लिएर गए । प्रहरीले ममाथि दुव्र्यवहार गरेपछि त्यहाँ भेला भएका बटुवा र स्थानीय विरोधमा उत्रिए । विवेकशील सर्वसाधारणको दबाबका कारण उनीहरुले मलाई अख्तियार परिसरभित्र लैजान सकेनन् । सुरुमा मैले आफ्नो परिचय खुलाउन चाहिन । जब बारम्बार मेरोबारेमा जान्ने कोसिस भयो र फोटो किन खिचेको भन्दै प्रश्नहरु गरियो । त्यसपछि मैले म पत्रकार हुँ । इमेज च्यालनमा आवद्ध छु भनें । प्रहरीले परिचयपत्र मागे । मैले परिचयपत्र देखाएँ । त्यसपछि झन् उनीहरुले निरन्तर मलाई भित्रै लैजान बल गरे । धेरैपटक तानातान भयो । प्रहरीले जबर्जस्तीका कारण मेरो घाँटी र ढाडमा चोट लागेको छ । एउटा दाँत भाँचिएको छ । डिएसएलआर क्यामेराको लेन्स फुटेको छ । पत्रकार भन्ने थाहा पाएपछि प्रहरीले मेरो झोला र क्यामेरा भित्र लगेर तस्विर र भिडियो डिलिट गर्न लागेका थिए । प्रहरीले पटकपटक हातपात गर्दा म केही अचेतजस्तो भएको थिएँ । किनकी जीवनमा पहिलोपटक प्रहरीको धरपकडमा परेको थिएँ ।
यी सब घटना भइरहँदा मैले पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई आयोगको गेटबाटै घटनाबारे जानकारी गराएँ । उनीहरु दुवैले अख्तियारको प्रेस हेर्न निकायमा फोन गर्छु भने । केही बेरमै अख्तियारका केही कर्मचारी आएर मेरो झोला र क्यामेरा लिएर जाऊ भने । मैले पत्रकारको परिचयपत्र देखाउँदा मलाई किन दुव्र्यवहार गरेको ? मेरो दाँत भाँचिएको छ । क्यामेरा फुटेको छ । अख्तियारले आधिकारिक रुपमा मलाई जवाफ दिनुपर्ने अडान राखेँ । मैले नेपाल पत्रकार महासंघको टोली बोलाउँछु । उनीहरुको रोहवरमा अख्तियारको मलाई पक्राउ गर्नुपरेको लिखित कारण आएपछि मात्र सामान बुझेर जान्छु भनें । तर, उनीहरुले आफ्ना सामान लिएर सरासर नगए जे पनि हुने धम्की दिएपछि म बाध्य भएर अख्तियारबाट बाहिर निस्किएँ । बाहिर गेटमा कमलपोखरी प्रहरी प्रभागका प्रमुख डिएसपी विनोद सिलवालको टोलीसँग भेट भयो । सिलवालसँग पूरानै चिनजान हो । राम्रै कुरा भयो । अख्तियार कार्यालयको अघिल्तिर कालो रंगको बेबारिसे झोला फालिएको र बम हुने खबर आएपछि सुरक्षाका लागि आएको जवाफ दिए ।
उनी भन्दै थिए प्रहरी र सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्नुछ । उनको कुराले म झस्किएँ । परिस्थितिले अर्कै मोड लिन सक्ने खतरा महसु गरेपछि गम्भीर भएँ । तत्काल सिललाई घटनाबारे सबिस्तार भनेँ । झोला आफ्नो भएको र त्यसमा बम नभई क्यामेरा रहेको बताएँ । ममाथि कुटपिट र दुव्र्यवहार हुनुको कारण मागेपछि घटनालाई ‘डाइभर्ट’ गर्न अख्तियारका अधिकारीहरुले लेकमानको ठाडो आदेशमा बेबारिसे बम भेटिएको गलत सूचना प्रहरीमा दिएका थिए । मानसिक रुपमा धेरै तनाव भयो । ससासर डेरा गएँ । मैतिदेवी पुगेर घटनाबारे नजिकका सहकर्मीहरुलाई खबर गरेँ । केही साथीहरु मेरो कोठामा आउनुभयो । उहाँहरुले ममाथि भएको दुव्र्यवहारको समाचार लेखेर समाचार कक्षमा पठाउनुभयो । २४ घण्टासम्म मेरो संस्थाले आफ्नो कर्मचारीमाथि भएको दुव्र्यवहारको समाचार प्रसारण गरेन । तर, अरु मिडियाले समाचार दिए । अकारण ममाथि भएको ज्यादतीबारेको समाचार नबजाएपछि आफूले दुई वर्षयता काम गर्दै संस्था र त्यसका मालिकप्रति घृणा जागेर आयो । संरक्षण गर्नु त कता हो कता समचारसमेत नबजाएपछि बिरक्त लागेर आयो । त्यति मात्र होइन । एकपटक पनि मलाई घटनाबारे सोधिएन । तै पनि पेशाको धर्म सम्झेर नियमित रुपमा काममा फर्किएँ ।
भोलिपल्ट इमेज रेडियोमा मेरो कार्यक्रम थियो । कार्यक्रम सकेर फर्कने बेलामा इमेज न्यूज एफएमकी चिफ एक्ज्युकेटीभ प्रोडुसर अनुपा श्रेष्ठले कार्यकक्षमा बोलाइन् । मलाई लाग्यो घटनाबारे सोधखोज हुनेछ । मलाई न्याय दिन सहयाग हुनेछ । जब उनले मौखिक रुपमा मेरो अख्तियारमा भएको घटनाका कारण जागिर गएको जानकारी गराइन । मैले सपनाजस्तो ठानें । ‘हिजोको घटनामा अख्तियारसँग इमेज मिडियाको नाम जोडिएकाले बेइज्जत भएकाले भोलिबाट काममा नआउनु’, उनले भनिन् । मैलेसमेत भोट दिएर प्रेस युनियन इमेज शाखाकी अध्यक्ष भएकी श्रेष्ठले व्यवस्थापनको निणयले निकालिएको जानकारी गराइन् । पत्रकारको हकहित गर्ने संगठनको जिम्मेवार व्यक्तिले अकारण आफूजस्तै श्रमजिवी पत्रकारलाई मौखिक जानकारीका भरमा जागिरबाट निकाल्न मिल्छ र ? मैले सोधेको प्रश्नको जवाफमा ‘माथिको आदेश’ भन्दै उनी कार्यकक्षबाट बाहिरिइन् । ढोकामा पुगेपछि चार दिनपछि तिम्रो खातामा पैसा आउँछ नभए म फोन गरेर पैसा लिन बोलाउँछु भनिन् । पत्रकारका विभिन्न संस्थाका केन्द्रिय तहमा पुगेका आधा दर्जनभन्दा बढी पत्रकारले काम गर्ने संस्थामा बिनाकारण अख्तियारका कर्मचारीसँग मालिकका हिमचिमका कारण मैले जागिरबाट बिदा लिनुपर्‍यो ।
२ दिनसम्म मलाई पत्रकारको हक हितमा काम गर्छु भन्ने एउटा पनि संस्थाले घटनाबारेमा बुझ्न आवश्यक ठानेनन् । विभिन्न सञ्चार माध्यममा समचार आयो । प्रेस काउन्सील, पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारीलगायत संस्थामा मैले घटना विवरणसहति निवदेन दिएंँ । त्यसपछि मात्र महासंघले घटनाबारे चासो देखायो । पत्रकार महासंघका अध्यक्ष समाचार प्रमुख रहेको टेलिभिजन र तथा मिडिया कम्पनीमा यत्रो घटान हुँदा उहाँले घटनाबारे अनभिज्ञता प्रकट गर्दै अन्तरर्वार्ता दिनुभएछ । जब कि मैले घटनास्थलबाटै सबै विवरण बताएको थिएँ । २ वर्षअघि दैनिक पत्रिकामा आएको सूचनाको आधारमा म इमेज टेलिभिजनमा काम गर्न गएको हुँ । सुरुमा टेलिभिजनमा काम लगाएपछि पछिल्लो समय इमेजन्यूज एफएम र अनलाइनमा म काम गर्छु । २ वर्षदेखि मैले नियुक्तिपत्र पनि पाएको छैन । मसँगै काम सुरु गरेका ५ जनमध्ये नियुक्तिपत्र नपाएकै कारण पाँच जनाले जागिर छोडिसक्नु भएको छ ।
इमेज टेलिभिजनका उपाध्यक्ष मोहनचन्द्र सिंहसँग लोकमान सिंहको हिमचिम भएकाले मलाई निकाल्न खोएिको हो । तर धेरै नेता भएको टेलिभिजनमा व्यवस्थापनको मौखिक निर्णयविरुद्ध मेरो पक्षमा आवाज उठाउने कोही पनि भएन । मैले निवेदन दिनु र विभिन्न मिडियामा समाचार आएपछि पत्रकार महासंघले प्रतिष्ठान संयोजक सुरज आचार्यको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीले मेरो बयान लिएको छ । मलाई जस्तै टोलीले इमेज व्यवस्थापनलाई महासंघमै बोलाएर घटनाबारे बयान लिएको हेर्न चाहन्छु । इमेज मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको भेलाले पनि कार्यदल बनाएको छ । कार्यदलले व्यवस्थापन, पत्रकार महासंघ र सम्बन्धित निकायमा दबाब दिएर मलाई न्याय दिने बताएको छ । पत्रकारको हक हितमा काम गर्छु भन्ने संस्था र तिनका नेताहरुले मेरो घटनामाथि मुख नफोरेको देख्दा दुःख लागेको छ । मेरो जागिर जानु धेरै चिन्ताको विषय होइन । भर भोलि मिडिया मालिकका नातेदार चिनजान र छरछिमेकका मानिससँग जोडिएका समाचार बनाएकै कारण पत्रकारको जागिर जाने नजिर नबनोस् । यदि त्यस्तो हो भने तपाई पत्रकारको हक हितका लागि खोलेका संस्थाको औचित्यमाथि प्रश्न उठ्ला । मलाई न्याय दिने मात्र होइन । नजिर बसालेर पत्रकारको अधिकार मजबुद बनाउनुहोस् । अनि मात्र सम्पूर्ण श्रमजिवी पत्रकारको हकहित हुन्छ । (योगी इमेज न्यूज एफएम र इमेजखबर डटकममा आवद्ध छन् )


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses