दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्यै समस्या
भिडियो हेर्न तलको बाकस थिच्नुहोस



इलाम, २८ साउन । दरबन्दीअनुसार कर्मचारी नहुँदा इलाका र सीमा प्रशासन कार्यालयमा समस्या भएको छ । मङ्गलबारेस्थित इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत नभएकाले नागरिकतामा हस्ताक्षर गर्न पनि सदरमुकाम ल्याउने गरिएको छ । दैनिक रुपमा वितरण गरिनुपर्ने नागरिकता हप्तामा एकपटक मात्र सेवाग्राहीले पाउने गरेका छन् । एक अधिकृतसहित तीन नायब सुब्बा र दुई सहयोगी हुनुपर्नेमा एक सुब्बा र एक सहयोगीको भरमा एक वर्षदेखि कार्यालय सञ्चालन हुँदै आएको छ ।


नागरिकता वितरण, बजार अनुगमन, स्थानीयवासीका गुनासा सुन्ने, पासपोर्टका लागि नागरिकताको विवरण रुजुलगायत काम यो कार्यालयको जिम्मेवारीमा छन् । तर न्यूनतम कार्यालयका प्राविधिक कामबाहेक अरू काम हुन सकेका छैनन् । इलाकाका लागि खटिएका एक सुब्बालाई पनि जिल्ला प्रशासन कार्यालयमा काजमा बोलाइएको छ ।

भारतीय सीमा क्षेत्रको अनुगमनसहित नागरिकता वितरण लगायतको जिम्मेवारी पाएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय पनि कर्मचारी अभावले समस्यामा छन् । एक अधिकृत र सहयोगी भएको सो कार्यालयमा सहयोगीले नै सुब्बाको काम गर्ने गरेका छन् । एक सुब्बा र लेखापाल काजमा अन्यत्र गएपछि दुईजनाको भरमा कार्यालय चलेको हो ।

यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जोगमाई, गोर्खे र जिर्मले गाविसका बासिन्दालाई नागरिकता वितरण, सीमा अनुगमन लगायत अन्य दैनिक कार्य गर्नुपर्छ । तर अहिले कार्यालय सहयोगीको सहयोगमा नागरिकता वितरण मात्रै भइरहेको कार्यालय प्रमुख यज्ञराज निरौलाले भन्नुभयो, “दैनिक कार्य सम्पादन गर्न नै भ्याइनभ्याई हुन्छ, सीमाको अनुगमन गर्ने जिम्मेवारीसमेत भए पनि प्रभावकारी हुन सकेको छैन ।”

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses