'यस्तो क्रूर मरण कसैको नहोस्'
भिडियो हेर्न तलको बाकस थिच्नुहोस



काठमाडौं, भदौ ९

-'स्वर्गको बास होस्, बिदाइ सबैको यस्तै होस् तर मरण त्यस्तो –क्रूर) कसैको नहोस्!' निकैबेरदेखि आर्यघाटतिर तन्किरहेका उनका आँखा एकाएक भरिएर आए र तरक्क तर्किए। आफैंसित यत्ति बोलिन् र भक्कानिएको मन सम्हालिन्।

आजको नागरिकमा केपी ढुंगाना लेख्छन्- कैलाली, टीकापुरमा थरुहट स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले कब्जामा लिएर भाला, खुँडा, खुकुरी, लाठीलगायत घरेलु हतियारले बर्बर हत्या गरिएका एसएसपी लक्ष्मण न्यौपानेको आत्मालाई आर्यघाटनजिकैको एक कुनोमा बसेर श्रद्धाका आँसु चढाइरहेकी काठमाडौं, गौरीघाटकी ७० वर्षीया गोरीमाया धमला एसएसपी न्यौपानेका आफन्त, नातागोताकी भने होइनन्।


आफन्त होस् या बिरानो, मृत्यु कसैलाई प्यारो हुँदैन। एउटा सेवक प्रहरीको हत्यामा देखाइएको क्रुरतालाई सचेत नागरिक हैसियतमा उनी धिक्कारिरहेकी थिइन्। राजधानीमा मंगलबार साँझ न्यौपानेको शवयात्रा र अन्त्येष्टिमा भेला भएको भिड देख्दा ती वृद्धाको बोली मार्मिक सत्य लाग्थ्यो– 'मृत्युचाहिँ त्यस्तो बर्बर कसैको नहोस्, बिदाइचाहिँ यस्तै दुनियाँ सहभागी भएको भव्य बनोस्।'

न्यौपानेको भौतिक शरीर बिदाइमा आएका सर्वसाधारणले भरिएको थियो, पशुपति आर्यघाट। सहकर्मीलाई श्रद्धा गर्ने प्रहरी संगठनका सदस्यहरुको उपस्थिति उल्लेख्य थियो। सर्वसाधारणको भिडले प्रहरीको निलो बर्दी भने छोपिन खोज्दै थियो।

चितामा पिताम्बरले बेरिएको बाबुको शवमा छोरा सन्देशले मुखाग्नि दिएलगत्तै पूर्वतिर रहेको प्रहरीको एक टोलीले शोकधून बजायो। चितानजिकै लहरै उभिएका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललगायत प्रहरी अधिकारीले स्यालुट गरेर सहकर्मी न्यौपानेको अन्तिम बिदाइ गरिरहँदा पूर्वतिरको सिँढीमा एक्लै बसिरहेकी गोरीमायाले पशुपति मन्दिरतिर हेर्दै दुवै हात जोडेर मृतात्माको शान्तिका लागि प्रार्थना गरिन्।

'भो बाबु, के कुरा गर्नु, मन छैन,' नागरिकर्मीसँग यत्ति भनेर उनी घाटबाट हिँडिन्। सायद शोकले निःशब्द भइन्।

***
कर्तव्यपालनाका क्रममा सोमबार दिउँसो प्रदर्शनकारीको आक्रमणमा ज्यान गुमाएका झापा, चन्द्रगढीका न्यौपानेको परिवार काठमाडौं, सिनामंगल बस्दै आएको छ। छोरी, श्रीमतीसहितको सबै परिवारका सदस्य काठमाडौंमै भएकाले प्रहरी प्रधान कार्यालयले उनको अन्तिम संस्कार पशुपति आर्यघाटमै गर्ने प्रबन्ध मिलाएर मंगलबार दिउँसो सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याएको थियो।
प्रकाशित मिति: बुधबार, भाद्र ९, २०७२ ०५:११:३७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses