घैंटे इन्काउन्टरमा प्रहरीमाथि प्रश्न
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ९
गुन्डागर्दीका नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ मारिएको घटना रहस्यमय बन्दै गएको छ।
राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीबीच भएका पत्राचारले घटनालाई रहस्यमय बनाएको खबर आजको नयाँ पत्रिकामा योगेश ढकालले खबर लेखेका छन्।
घैँटेले निवेदनमा २५ असारमा कपुरधारा तरकारी बजारमा सादा प्रहरीले पक्राउ गर्न खोजेको, तर ‘अहिलेलाई बाँचिस् अर्कोपटक छाडिँदैन’ भन्दै हिँडेको उल्लेख गरेका छन्। उनको निवेदनपछि आयोगले २९ असारमा प्रहरीलाई पत्राचार गरी जानकारी मागेको थियो। आयोगको पत्रमा भनिएको छ, ‘कुमार श्रेष्ठको सम्बन्धमा के–कसो भएको हो ? सोको सम्पूर्ण जानकारी यथाशीघ्र उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनुहुन अनुरोध छ।’ महानगरीय प्रहरी कार्यालयको मानवअधिकार शाखाले १२ साउनमा आयोगलाई लेखेको पत्रमा घैँटेलाई कुनै समस्या नरहेको उल्लेख छ।
महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुशीलकुमार भण्डारीको हस्ताक्षरमा आयोगमा पठाइएको प्रतिउत्तरमा भनिएको छ, ‘स्थानीय र कुमार श्रेष्ठसमेतलाई बुझ्दा सादा पोसाकका प्रहरी नै हुन् भन्ने यकिन गर्न नसकिएको, स्थानीय व्यक्तिहरू एवं पीडितले दिएको हुलियाअनुसार स्थानीय कार्यालयबाट गएर गोप्य रूपबाट बुझ्दासमेत दिएको हुलिया मिल्ने व्यक्ति कुनै पनि स्थानीय प्रहरी कार्यालयको नभएको, निजलाई पक्राउ गर्न कुनै पनि प्रहरी कर्मचारी खटाएको नदेखिएको भनी प्रतिवेदन पेस गरेको हुँदा सोअनुसार खुलाई पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ।’ घैँटेले निवेदनमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक र घुमुवा प्रहरी कुमार लामा, कुमार गुरुङ, देव दासलगायतको नाम उल्लेख गरेका छन्। घैँटेको परिवारले व्यक्तिगत रिसइबीले हत्या गरिएको आरोप लगाएका छन्।
‘व्यक्तिगत रिसइबीमा हत्या भएको छ,’ घैँटेकी फुपू सरस्वतीले भनिन्। काठमाडौं प्रहरी प्रमुख सर्वेन्द्र खनाल र घैँटेबीच १२ वर्षअघि भएको झगडाको रिस अहिले फेरिएको परिवारको आरोप छ। खनाल डिएसपी हुँदा उनलाई घैँटेको समूहले बियरका बोतलले आक्रमण गरेको थियो। एसएसपी खनाल र रमेश खरेल को एक नम्बरको डिआइजी हुने भन्ने दौडले पनि घैँटे मारिएको आरोप पनि लाग्ने गरेको छ। कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले खनालले एक नम्बरको डिआइजी हुने महत्त्वकांक्षाले चर्चा कमाउन घैँटेको हत्या गरिएको आरोप लगाए।
प्रकाशित मिति: बुधबार, भाद्र ९, २०७२ ०५:०२:२४ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses