२०७२ भदौ ८ गते १६:२८ मा प्रकाशित
८ भदौ, काठमाडौ । माओवादी जनमुक्ति सेनाका पूर्वलडाकु नेपबहादुर चौधरी ‘सिंहराज’ले कैलाली आन्दोलनमा आफूहरुको घुसपैठ नभई ऐक्यवद्धता रहेको बताएका छन् ।
‘पहिचानका लागि हामीले लामो समयदेखि लड्दै आएका छौं,’ नेकपा-माओवादी कैलाली इन्चार्जसमेत रहेका चौधरीले भने, ‘संविधान बनाउन नचाहनेहरुको घुसपैठ भन्ने गरेका छन्, यो सरासर गलत हो ।’
पहिचानको पक्षमा भएका जुनसुकै आन्दोलनमा पनि ऐक्यवद्धता रहने पार्टीले घोषणा गरेकाले आफूहरुले सक्रिय सहभागिता रहनु स्वभाविक भएको बताए । उत्पीडित समूदायमध्येकै थारु समुदायलाई राज्यले उपेक्षा गरेको कारण अधिकारका लागि सडकमा उत्रिएका समुदायलाई राज्यले दमन गर्न खोजेको उनको भनाइ छ ।
‘पहिचानको पक्षमा संघर्ष गर्ने पार्टीको घोषित नीति हो,’ माओवादी जनमुक्ति सेनाको कैलालीस्थित सातौं डिभिनजका भाइस कमाण्डर रहिसकेका चौधरीले भने, माओवादी आन्दोलनमा थारु समुदाय पनि छ, त्यसैले उसले अधिकारका लागि संघर्ष गर्नु स्वभाविक हो ।’
कैलालीको टीकापूर घटनाका बारेमा आएका मिडियामा आएका खबरहरु सबै प्रशासनको एकलौटी आवाज भएको चौधरीको दाबी छ । कैलालीमा भएको आन्दोलनलाई दबाउन सरकारले निषेधाज्ञा र कफ्र्यू जारी गरी शान्तिपूर्ण आन्दोलन गर्न समेत रोक लगाएको माओवादी नेता चौधरीको आरोप छ ।
थारु समुदायको शान्तिपूर्ण आन्दोलनलाई रोक लगाएपछि टीकापुर र आसपासका क्षेत्रबाट जनता स्वःस्फूर्त रुपमा सडक उत्रिदा प्रहरीले दमन गर्न खोज्दाले जनताले प्रतिरोध गरेको उनले अनलाइनखबरलाई बताए ।
थारुहरुको आन्दोलनलाई दबाउनकै लागि सेना परिचालन गरि आम नागरिकमा त्रास फैलाउने काम गरेको पनि उनले बताए । उनले भने, ‘दमन गरेर आन्दोलन रोकिदैन, पहिचानका लागि शुरु भएको आन्दोलन अन्तिम सम्म पनि जारी रहन्छ ।’
कैलाली घटनापछि वैद्य माओवादीको आकस्मिक बैठक
कैलाली घटनापछि पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा-माओवादीको स्थायीको बैठक बस्दैछ । कैलालीमा भएको पछिल्लो घटना र देशैभरको आन्दोलनको बारेमा छलफल गर्न वैठक बस्न लागे प्रवक्ता पम्फा भुसालले बताइन् । कैलाली घटनापछि विभिन्न जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरिएको घटनाबारे छलफल गर्न माओवादी वैठक बस्न लागेको माओवादीले जनाएको छ ।
कैलाली घटनापछि माओवादी अध्यक्ष मोहन वैद्यले सोमबार नै विज्ञप्ति जारी गरी जनताको शान्तिपूर्ण आन्दोलनमा दमन गरी आन्दोलन भड्काउन खोजिएको जनाएका छन् । शान्तिपूर्ण रुपमा भएका जनविरोध र जनप्रदर्शनजस्ता कार्यक्रमबाट समेत उत्तेजित भई कैलाली लगायतका जिल्लाहरूलाई दंगाग्रस्त क्षेत्र घोषित गरी कर्फयु लगाउने र ती ठाउँहरूमा सेना परिचालन गर्ने निर्देशन तानाशाही कदम भएको वैद्यको आरोप छ ।
0 comments
Write Down Your Responses