प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन हुनेछ : महानिरीक्षक अर्याल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंगलवार 8 भदौ, 2072
काठमाडौं, भदौ ८ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टिकापुर घटनामा प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन देशवासीबाट हुने जनाएका छन् ।
दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न शक्ति मिलोस् भन्ने प्रार्थना गर्दै उनले घाइते प्रहरीहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
समवेदना सन्देशमा उनले भनेका छन्, ‘विभिन्न विषम परिस्थितीमा मुलुकको सुरक्षा र जनताको जीउधनको रक्षा खातिर जीउज्यानको परवाह नगरी कर्तब्यको बलीबेदीमा आफूलाई सहर्ष अर्पण गर्नु प्रहरीको धर्म हो ।’
नेपाल प्रहरीका सपुतहरुले इतिहासका विभिन्न कालखण्डमा पुर्याएका यस्ता त्याग र बलिदान सुनौला अक्षरले कोरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले भनेका छन्, ‘यस्ता गौरवपूर्ण गाथा नेपाल र प्रहरी संगठनका लागि सदासर्वदा मार्गदर्शन र उत्प्रेरणाका श्रोत हुनेछन् ।’
यसैक्रममा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण नेउपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार श्वामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको प्राण उत्सगैको नेपाल प्रहरीका सकल दर्जाहरुबाट मात्र होइन, देशवासीबाट समेत उच्च मूल्यांकन हुने उनले जनाएका छन् ।
कर्तव्यनिष्ठ प्रहरी कर्मचारीमाथि भएको कायरतापूर्ण आक्रमणमा संलग्न व्यक्तिलाई जुनसूकै हालतमा पनि कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै महानिरीक्षक अर्यालले भनेका छन्, ‘यस असहज घडीमा आफ्नो कर्तब्यमा किञ्चित पनि विचलित नभई व्यावसायिक संयमता, कौशलता र धैर्यता प्रदर्शन गर्दै राष्ट्रसेवामा अझ बढी अग्रसर हुन समेत सबै प्रहरी कर्मचारीलाई निर्देशन गर्दछु ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses