अनलाइन क्यासिनोमा जुवा खेल्छन् नेपाली
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ साउन २८ गते ६:३२
२८ साउन, काठमाडौं । कुनै वेला नेपालमा १० वटा क्यासिनो सञ्चालनमा थिए, अहिले आठवटा बन्द छन् । सञ्चालनमा रहेका दुईवटामा नेपालीलाई प्रवेश निषेध छ । तर, ढुक्क ! क्यासिनोका पारखीलाई विदेशी क्यासिनोले अनलाइन सेवा दिइरहेका छन् ।
विदेशी क्यासिनोले नेपालमा एजेन्ट नै राखेर अनलाइनमार्फत जुवा खेलाइरहेका छन् । चार मुलुकका दर्जनभन्दा बढी अनलाइन क्यासिनोले पैसा लिने र दिने गरी नेपालमा एजेन्ट राखेका छन् । नेपालमा सिंगापुर, श्रीलंका, दुबई र भारतको सिक्किमका अनलाइन क्यासिनोका एजेन्ट सक्रिय रहेको यसमा संलग्नहरू बताउँछन् ।
सबैभन्दा धेरै नेपाली श्रीलंकाको बिबिएम अनलाइन क्यासिनोमा जुवा खेलिरहेका छन् । यसका एजेन्ट पनि तीनजना परिवर्तन भइसकेका छन् ।
श्रीलंकाकै बालिज कोलम्बो र क्यासिनो मरिनाले पनि नेपालीलाई जुवा खेलाइरहेका छन् । त्यस्तै सिंगापुरको क्यासिनो मिदास, स्लटोक्यास क्यासिनो, सिक्किमको क्यासिनो अनलाइन, स्पोर्टस् बिडिङ, प्लाटिनम प्ले, दुबईको स्पिन प्यालेस क्यासिनो, रुबी फरटुयुन क्यासिनो, रोयल भेगास क्यासिनोमा नेपालीले जुवा खेलिरहेको नयाँ पत्रिकामा खबर छ ।
सिक्किमको प्लाटिनम प्ले क्यासिनोका नेपाल एजेन्ट सुरज श्रेष्ठले अनलाइनबाट क्यासिनो खेल्ने बढिरहेको बताए । ‘यता नेपालीले क्यासिनोमा प्रवेश पाउँदैनन्, पैसा बोकेर भारत जान–आउन पनि सहज नभएकाले यसका सौखिन अनलाइनतर्फ आकर्षित भएका हुन्,’ उनले भने ।
नेपालमा अनलाइन क्यासिनोको ५० भन्दा बढी एजेन्ट रहेको श्रीलंकाको बिबिएम क्यासिनोका नेपाल एजेन्टले जानकारी दिए । ‘सबैसँग गरेर खेल्ने पाँच हजारभन्दा बढी नेपाली छन्, ठूलो–ठूलो रकममा पनि खेल हुन्छ,’ उनले जानकारी दिए ।
क्यासिनो खेल्नेले सुरुमा ‘अनलाइन एकाउन्ट’ खोल्नुपर्छ । खेल्ने रकम खातामा जनाएपछि त्योबराबरको रकम एजेन्टले लिन्छन् । ‘हारे पैसा गइहाल्यो, जिते हामीजस्ता एजेन्टमार्फत क्यासिनोले तिर्छ,’ उनले भने, ‘एजेन्टलाई पनि राम्रै कमिसन आउँछ, त्यसैले भित्रभित्रै एजेन्ट पनि बढिरहेका छन् ।’ एजेन्टले उठाएको रकम हुन्डीमार्फत सम्बन्धित देशको क्यासिनो कम्पनीमा पुग्छ ।
0 comments
Write Down Your Responses