टीकापुर घटनामा ज्यान गुमाउने सुरक्षा कर्मचारीलाई एक तह पदोन्नति
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


घटनाको अध्ययन गर्न समिति गठन


काठमाडौँ,  भदौ ८ – सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको जानकारी गराए ।


सरकारले टीकापुर घटनाको अध्ययन तथा छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी रहेको समिति गठन गरेको छ ।
सरकारले टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै त्यसको भत्र्सना गरेको छ । शान्ति सुरक्षाको स्थिति कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै प्रवक्ता डा रिजालले समाजमा शान्ति स्थापनाका लागि सबै नागरिकसँग आग्रह गरे ।
टीकापुर घटनापछि केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा स्थानीय रुपमा सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी गराए । “हिंसा मुलुकले थेग्न सक्दैन, मुलुक संविधान निर्माणका चरणमा छ”– डा रिजालले भने “ राजनीतिक असन्तोषलाई सम्बोधन गर्ने ठाउँ सिर्जना हिंसाबाट मुक्त भएमा नै गर्न सकिन्छ, यो सबैले बुझ्नु आवश्यक छ ।”
संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन आवश्यक हुने बताउँदै सूचना तथा सञ्चारमन्त्री डा रिजालले सबै सञ्चारगृहलाई त्यसतर्फ गम्भीर बन्न आग्रह गरे । सामाजिक सञ्जालबाट व्यक्त गरिने कुरामा वस्तुनिष्ठता होस् भन्दै उहाँले प्रामाणिकताअनुसार सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses