भूकम्पपछि पानीको मुहान सुक्यो
९ जेठ
गोरखाबजार, वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस–१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुईवटा खोलामा पानी सुकेको छ ।
बारपाक र सौरपानीको सिमाना भएर बग्ने हस्र्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले बताए ।
“हाम्रो गाउँमा ल्याएको खानेपानीको दुइटै मुहान सुकेको छ, अहिले गाउँका मान्छे पानी लिन सौरपानी गाविसको कुलगाउँतिर जान्छन् ।” कुलगाउँ पुग्न आधा घन्टा लाग्ने उनले भने ।“गाउँमा पानी ल्याएको एउटा मुहान सम्लेडाँडामा छ । अर्को हस्र्याङ्खोलाको मुहानमा छ” उनले भने, “मुहान थुनिएको होला भनेर गाउँले सबै मिलेर मर्मत गर्न जाँदा दुवै मुहान टपक्कै सुकेको भेटियो ।” पोखरी गाउँमा १०० घरधुरीको बसोबास छ ।
बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पका कारण सबैघर भत्केर पूर्ण क्षति भएको छ । पोखरीगाउँका छ जनाको मृत्यु भएको थियो ।
“आफन्त गुम्यो, सम्पत्ति बाँकी रहेन” उनले भने, “दुःखमाथि दुःख थपियो । खानेपानीको मुहान सुक्यो ।” गाउँलेले यथाशीघ्र गाउँमा पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले खानेपानीको समस्या समाधान गर्ने प्रयास सुरु गरिएको बताए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses