भूकम्पको डर अझै हटेको छैन ? त्यसोभए यो पढ्नूस्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भूकम्पको डर अझै हटेको छैन ? त्यसोभए यो पढ्नूस्

महाविपद्को बेला एक साथ धेरै किसिमका स्वास्थ्य समस्या आउँछन् । अहिले महाभूकम्पका कारण धेरैको ज्यान गएको छ । धेरै घाइते भएका छन् । सुरुको काम उनीहरुको ज्यान कसरी जोगाउने भन्ने नै हो । विपद् आइपरेको बेला मानिसहरु धेरै आत्तिन्छन् , डराउँछन् । अझ अहिलेको जस्तो भूकम्पमा त बारम्बार डराउनु पर्छ । किनभने भूकम्पका पराकम्पहरु अझै आइरहेका छन् । यस्तो परिस्थितीमा मानिस अझै डराइरहेका छन् ।
त्यही डरले मानसिक समस्या निम्त्याउँन सक्छ । तर यस्तो २० प्रतिशत मानिसहरुमा मात्रै सम्भावना हुन्छ । १० प्रतिशतलाई मनोपरामर्शबाटै ठिक पार्न सकिन्छ । १० प्रतिशतलाई साधारण औषधि दिएर पनि ठिक पार्न सकिन्छ ।

अहिले भूकम्प जाँदाको बेलाका भिडियोहरु पनि सामाजिक सञ्जाल, इन्टरनेटहरुमा धेरै छन् । भूकम्पका कारण धेरै डराएको मानिसलाई त्यस्ता भिडियो देखाउनु हुदैन । भूकम्पबारे धेरै कुरा सुनाउन हुँदैन । आमसञ्चारमाध्यमहरुमा मन विथोल्ने किसिमका सामाग्री राख्नु पनि हुँदैन । त्यसले आघात परिरहेकाहरुलाई अझै ठूलो आघात पर्न सक्छ ।

सामान्यतः यस्ता महाविपद्पछि मानिसहरु डराउँने, राति राम्रो निद्रा नपर्ने, सपनामा पनि भूकम्प नै आउने, बर्बराउने, कराउने जस्ता समस्या धेरैमा हुन्छ । तर यस्ता समस्या हप्ता दिनसम्ममा सकिन्छ वा विस्तारै घट्छ । तर एक सातासम्म पनि त्यो डर, शंका वा मन शान्त भएन भने त्यस्ता मानिसहरुलाई मनोपरामर्श वा अरु उपचार गर्नु पर्छ ।
यस्तो बेलामा कतिपयले आफन्त गुमाएका हुन्छन् । कसैले घरबार गुमाएका हुन्छन् । कोही बल्लतल्ल बाँचेका हुन्छन् । समस्या आ आफनै हुन्छन् । सबैलाई आफ्नो समस्या ठूलो लाग्छ । यसले कहिले कहि स्वास्थ्य समस्या पनि निम्त्याउँछ । कसैले मेरो कमजोरीले आफन्त गुमाएँ भन्ने सोच्दछन् । कसैले म बाचेर के भो र , अरु सबै मरे भन्ने सोच्दछन् ।
दोष केही नभए पनि कतिपयले आफैलाई दोष लगाउँछन् । उनीहरुको मन शान्त हुँदैन । ध्यान एकत्रित हुँदैन । यस्ता लक्षण स्वभाविक हुन् । आउँछन् जान्छन् । तर गएनन् भने चाहिँ उपचार गर्नु पर्छ । मनोचिकित्सक कहाँ पुग्नु पर्छ । मनोचिकित्सक कहाँ पुग्दैमा कोही पागल भएको भन्ने अर्थ लाग्दैन ।
कतिपय अवस्थामा मनोचिकित्सकहरुले कुरा गरेरै बिरामी विसेक हुन्छन् । केही औषधिहरु पनि दिन सक्छन् । त्यस्ता औषधि प्रयोग गर्दैमा दीर्घकालीन समस्या पनि हुँदैन । आकस्मिक रुपमा आउने समस्याका कारण मनमा उब्जने भावनाले ल्याउने समस्यालाई हामी ‘एक्यूट स्टे«स रिएक्सन’ भन्छौं । यहि किसिमको लक्षणले एक महिना नाध्यो भने त्यो ‘पोस्ट ट्रामाटिक डिसअर्डर’ बन्छ । त्यो चरणको उपचार बेग्लै हुन्छ ।
यस्तो समयमा जो पहिलेदेखि नै कुनै किसिमको मानसिक समस्याको औषधि सेवन गरिरहेका छन् भने त्यस्तालाई समस्या बढ्न सक्छ । निको भएकाहरुलाई बल्झिन सक्छ । डर धेरै भयो भने सास फेर्न गाह्रो हुन्छ । पसिना आउँछ । हातखुट्टा झमझमाउँछ । कुनै रोग हुँदैन तर रोग भएजस्तै लक्षण देखिन्छन् ।
यस्तो अवस्थामा परिवार, साथीभाई, समाजले डराएको व्यक्तिलाई ढाडस दिनु पर्छ । उसलाई सहयोग गर्नु पर्छ । अपनत्व प्रदान गर्नु पर्छ । सामाजिक सहायताले पनि मानिसलाई मानसिक समस्या उब्जनबाट रोक्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses