काँकडभिट्टा भन्सारमा जनपद र सशस्त्र प्रहरीबीच कुटाकुट भएपछि…
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेठ ३१ गते
झापा, ३१ जेठ । झापामा सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट भएपछि सुरक्षा निकायबीच तनावको अवस्था सिर्जना भएको छ।
जेठ २५ गते काँकरभिट्टामा शसस्त्रका प्रहरी सहायक निरीक्षक दिपक श्रेष्ठले नेपाल प्रहरीका हवल्दार गगन चौधरीमाथि हातपात गरेपछि झापाका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ रेग्मी असन्तुष्ट बनेका छन् । एसपी रेग्मीले सीमा शुरक्षा र राजश्व असुलीमा खटिएका शशस्त्र प्रहरीले नै ‘सिस्टमेटिक माल प्रोसेस’को रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।
एसपी रेग्मी इमान्दार कर्मचारीमाथि कुटपिट हुनु सामान्य कुरा हुनै नसक्ने बताउँछन् । उता, शसस्त्रका एसपी प्रेमराज पोखरेल भने यस घटनालाई सामान्यको रुपमा हेरिरहेका छन् । यस विषयमा उनी खासै बोल्न चाहँदैनन् । उनी भन्छन् –‘तिललाई पहाड नबनाएकै राम्रो ।’
मेची भन्सार कार्यालयको मूल गेटमा खटिएका शसस्त्र प्रहरीका असई श्रेष्ठद्वारा नेपाल प्रहरीका हवल्दार चौधरीमाथि भएको ज्यादती र आक्रमण ‘सिस्टमेटिक माल प्रोसेस’को दरिलो आधार भएको झापाका प्रहरी प्रमुख एसपी रेग्मीले दाबी गरेका छन् । रेग्मीका अनुसार नेपाल प्रहरीका जवानहरुले सीमा र भन्सार नाकामा हुने गरेको अवैध ओसारपसार र गतिविधिको नियन्त्रण गर्न गरिएका प्रयासहरुलाई त्यहाँ खटिएका शसस्त्र प्रहरीहरुले निरुत्साहित गर्ने गरेका छन् । रेग्मीले भने– ‘श्रृंखलावद्ध आक्रमण भइरहेको छ । हालसम्म नेपाल प्रहरीका तीन जना कर्मचारी शसस्त्र प्रहरीबाट कुटिनु यसैको परिणाम हो ।’ श्रेष्ठलाई कारवाही नगर्ने हो भने यसको दुष्परिणाम राष्ट्रले व्यहोर्नुपर्ने उनले बताए । एसपी रेग्मीले यो विवाद कार्यक्षेत्रको विवाद नभएको स्पष्ट पारेका छन् । उनका अनुसार घटनापछि गठित छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाको संयोजकत्वमा गठित टोलीले श्रेष्ठले अनुशासन र प्रहरी आचरणविपरित कार्य गरेको ठहर गर्दै कारबाहीका लागि सिफरिस गरेको हो ।
आश्चर्यको कुरो त के छ भने नेपाल प्रहरीका असई र शशस्त्रका हवल्दारबीच पोशाकमै कुटाकुट भएको बेला भन्सारबाट खटिएका कुनैपनि कर्मचारीले नदेखेको बयान दिएका छन् । त्यहाँ जडित सीसी क्यामेराको फुटेज समेत नहुनुले थप शंका उत्पन्न भएको एसपी रेग्मीले दावी गरे । घटना भएका बखत मेची भन्सार कार्यालयका १३, शसस्त्र प्रहरीका ६ जनाभन्दा धेरै घटनास्थल नजिकै रहेका थिए । गएको २५ गते भएको घटनाको छानविन गरी कारबाही गर्न गठित समितिलाई उनीहरुले असइ र हवल्दारबीच भएको कुटाकुट आफूहरुले नदेखेको वयान दिएका छन् ।
स्रोत - दैनिक नेपाल
एसपी रेग्मी यस्तो समस्यालाई जरैदेखि निमिट्यान्न पार्नुपर्ने बताउँछन् । ‘अवैध सामान रोक्नेलाई पिट्न थालियो भने यसलाई सामान्य भन्न पटक्कै मिल्दैन ।’– उनले भने । १० महिनाअघि नेपाल प्रहरीका प्रहरी जवान कपिलेश यादबमाथि पनि शसस्त्रबाट कुटपिट भएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses