काठमाडौं ।
कुख्यात गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का त्यस्तै गुण्डा नाइके कुमार लामा घैंटे मारिएको विषय यतिबेला नेपाली राजनीतिमा समेत प्रधान बनेको छ । चरी मर्दा एमालेका नेताहरुले संसद तताएका थिए भने घैंटे मर्दा नेपाली कांग्रेसका सभाषदले त्यस्तै गरे । दुवै गुण्डालाई पुलिसले इन्काउन्टर गर्यो र दुवै मारिँदा गृहमन्त्री रहेका बामदेव गौतमले एकै खाले जवाफ दिए ‘प्रहरीमाथि गोली चलाएपछि जवाफी कारवाहीमा मारिएका हुन्’ ।
यी २ गुण्डा नाइकेले जीवनमा अरुलाई जतिसुकै दुःख दिएको भएपनि अन्त्य भने समान किसिमले भएको छ । प्रहरीले दुवैको जीवन लीला इन्काउन्टरबाटै समाप्त मारिदिएको छ । तर विडम्बना मान्नु पर्छ यी दुई गुण्डाको निधनले कतिपय राजनीतिज्ञको ढोङ्गी अनुहार भने सतहमा आएको छ । चरी मर्दा एमालेका धादिङे सांसद राजेन्द्र पाण्डै लगायतले संसदमा टेवल ठटाएर गृहमन्त्री र प्रहरीलाई गाली गर्दै चरीलाई सहिद घोषणा गर्न माग गरेका थिए । सडकमा पनि प्रदर्शन भयो र धादिङ बन्द आयोजना गरियो ।
घैंटे मारिएको विरोधमा माहाराजगञ्जमा भएको प्रदर्शन
एक वर्षपछि घैंटै मारिँदा पनि संसदमा उस्तै दृष्य देखियो । यस पटक नुवाकोटबाट राजनीति गर्ने कांग्रेसका जगदिश्वरनरसिंह केसीसहितका केही सांसदले घैंटेको जीवनको उच्च मूल्याङ्कन गर्दै उ मारिएकोमा वलिन्द्रधारा आँशु खसाए । प्रहरीले जानजान घैंटेलाई मारेको भन्दै उनका समर्थकले शुक्रबार काठमाडौं क्षेत्र नम्बर ६ बन्द गराए। सो क्षेत्रका सभासद भीमसेनदास प्रधानको सक्रियतामा भएको बन्दमा कांग्रेस सभासद जगदिश्वरनरसिंह केसीसमेत सक्रिय थिए ।
बिहीबार उपचारक्रममा शिक्षण अस्पताल महाराजगन्जमा घैंटेको मृत्यु भए पनि शवको पोस्टमार्टम भएको छैन। बिहीबारझैँ नाराबाजी हुने आशंकामा प्रहरी परिचालन बढाइए पनि शुक्रबार अस्पताल क्षेत्रमा उनका समर्थक देखिएनन्। १ वर्षको अन्तरालमा संसदमा र सडकमा देखिएका दृष्यले नेपालमा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिककरणको अवस्थालाई उजागर गर्छ ।
रमाइलो कुरा त के छ भने चरी मरेको समयमा एमाले सभाषदले गरेको संसद हंगामा र सडकमा देखिएका दृष्यप्रति असमति जनाउँदै नेताहरुले गुण्डाहरुको संरक्षण गर्न छोडे चरी जस्ता ब्यक्ति अपराध गर्नबाट निरुत्साहित हुने टिप्पणी गरेका कांग्रेसका युवा नेता एवं सभाषद गगन थापा एक वर्षपछि घैंटे मारिँदा भने भाव विव्हल भएका छन् ।
घैंटेसँग एक कार्यक्रममा गगन थापा
उनलाई घैंटको ज्यान गएकोमा ठूलो मानव अधिकार हनन भएको कुरा अनुभुत भएकैले होला घैंटेकै साथीभाइसहित दलबलसहित मानवअधिकार आयोगमा पुगेर घैंटे हत्याको छानविन माग गरे । आइतबार दिउँसो मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेर कांग्रेस केन्द्रीय सदस्य गगन थापा, र सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले प्रहरीले ज्यादती गरेको भन्दै छानबीन गर्न आग्रह गरे । गगनले घैंटैको मृत्युलाई चरीको मृत्यु जति सहजरुपमा स्वीकार गर्न नसक्नुको रहस्य बारे यतिबेला बजार चर्चा शुरु भएको छ । भूकम्पको समयमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको क्षेत्र नुवाकोट गएर भूकम्प पीडितका अस्थायी टहरा बनाएका गगन थापा अहिले ससुरालीहरुकै हो मा हो थप्दै घैंटको मृत्युलाई मानव अधिकार हननको ठूलो मुद्धा बनाउन कँस्सिएका छन् । ससुराहरुको हो मा हो मिलाउँदै दुरदृष्टि र राजनीतिक भविष्यलाई नै दाउमा राखेर अघि बढेको जस्तो देखिने यो उनको कदमले उनीमाथि आशाको दृष्टिले हेर्ने सयौं युवालाई भने नमज्जा लागेको कुरा सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले पुष्टी गर्छ । उनका ससुरा अर्जुननर सिंह केसीका भाइ जगदिश्वरनरसिंह केसीसँग कतिपय ब्यापारमा पार्टनर समेत रहेका भनिएका घैंटको निधनमा गगनको प्रतिक्रियाले उनी पनि उही ड्याङका मुला नै हुन् भन्नेहरुलाई बल पुगेको छ ।
चरी मर्दा के भनेका थिए गगनले ?
नेपालमा राजनीतिक संरक्षणका कारण गुण्डा राजनीति मौलाएको ठान्ने गगनले चरीको इन्काउन्टर हुँदा एक सञ्चार माध्यमलाई दिएको भिडियो अन्तरवार्तामा भनेका थिए- ‘यो स्वीकार गर्ने बेला हो हाम्रै कारणले यस्तो भएको हो भनेर । चरीले गरेका साना साना अपराधलाई प्रोत्साहित तथा संरक्षण नगरेको भए अर्को अपराध गर्दैनथ्यो होला । हाम्रो पार्टीहरुले यस्ता कुरालाई संरक्षण नगरेको भए यस्ता अपराध हुँदैनथे चरी मारिँदैन्थ्यो । यस्तो अपराधमा लाग्ने कुनै पनि ब्यक्तिलाई पार्टीको संगठित सदस्यता दिँदैनौ, संरक्षण दिँदैनौ भनेर प्रतिबद्धता जनाउनु पर्छ । राजनीतिको अपराधीकरण लाई निरुत्साहित गर्नु पर्छ । अपराधको राजनीतिकरणलाई निरुत्साहित गरिनु पर्छ । अव यो शुरुवात हुनु पर्छ ।
असाध्यै आदर्शवादी लाग्ने गगन थापाको यो बोली घैंटको अवसान सम्म आइपुग्दा हावामा हराएको छ । उनी घैंटेलाई प्रहरीले हत्या गरेको र गैरन्यायिक हत्या भएको भन्ने कुरा पुष्टी गर्ने आफ्ना ससुराहरुको प्रयासमा साक्षी बन्न नेतृत्व मोर्चामा देखिएका छन् । भलै उनले मानव अधिकारको विषयलाई चरीको मृत्युको कुरामा पनि जोडेका थिए तर उनले राजनीतिमा अपराधीलाई प्रोत्साहित गर्नु हुन्न सदस्यता दिनु हुन्न भन्ने कुरा विर्सिएर दोहोरो चरित्र देखाए भन्ने उनका आलोचकलाई प्रसस्त ठाउँ दिएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses